न्युजिल्यान्ड । न्युजिल्यान्डमा आर्थिक गतिविधिमा क्रमिक सुधारका संकेत देखिन थालेसँगै व्यावसायिक क्षेत्रको विश्वास बढेको छ । यद्यपि, समग्र आर्थिक पुनरुत्थान अझै कमजोर र चुनौतीपूर्ण अवस्थामा रहेको एक सर्वेक्षणले देखाएको छ ।

न्युजिल्यान्ड इन्स्टिच्युट अफ इकोनोमिक रिसर्च (एनजेडआईईआर) का अनुसार व्यावसायिक क्षेत्रमा बढ्दो विश्वासले आगामी दिनमा लगानी र रोजगारी विस्तारमा सकारात्मक प्रभाव पार्न सक्छ । तर कमजोर उपभोग, उच्च ब्याजदर र मुद्रास्फीतिको दबाबले आर्थिक सुधारको गतिलाई प्रभावित पार्न सक्ने देखिएको छ ।

संस्थाले मुद्रास्फीतिको दबाब कायम रहेमा न्युजिल्यान्डको केन्द्रीय बैंकले सन् २०२७ मा आधिकारिक नगद ब्याजदर (ओसीआर) दुई पटक ०.२५ प्रतिशत बिन्दुले बढाउन सक्ने अनुमान गरेको छ । त्यसो भए हाल २.७५ प्रतिशत रहेको ब्याजदर बढेर ३.२५ प्रतिशत पुग्नेछ ।

एनजेडआईईआरले डिसेम्बरमा मुद्रास्फीति पुनः ४ प्रतिशतभन्दा माथि पुग्ने र सन् २०२७ को अधिकांश समय केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि रहने प्रक्षेपण गरेको छ । यद्यपि, आगामी वर्षको अन्त्यसम्ममा मुद्रास्फीति पुनः निर्धारित लक्ष्य सीमाभित्र फर्किने अपेक्षा गरिएको छ ।

यसैबीच, न्युजिल्यान्डको वार्षिक उपभोक्ता मूल्यवृद्धि दर जुन महिनाको ४.१ प्रतिशतबाट घटेर सेप्टेम्बरमा ३.७ प्रतिशतमा झरेको छ । तर यो दर केन्द्रीय बैंकले निर्धारण गरेको १ देखि ३ प्रतिशतको लक्ष्यभन्दा अझै माथि छ ।

आर्थिक सुधार सबै क्षेत्रमा समान रूपमा देखिएको छैन । अन्तर्राष्ट्रिय बजारमा कृषि तथा अन्य निर्यातजन्य वस्तुको उच्च मूल्यले ग्रामीण अर्थतन्त्रलाई सहयोग पुर्‍याइरहेको छ भने कमजोर घरेलु माग र उच्च ब्याजदरका कारण सहरी क्षेत्र बढी प्रभावित बनेका छन् ।

यद्यपि, उत्पादन तथा सेवा क्षेत्रका सूचकहरूमा सुधार देखिएको छ । व्यवसायीहरू रोजगारी सिर्जना र लगानी विस्तारप्रति पनि पहिलेभन्दा बढी आशावादी बनेका छन् ।

सर्वेक्षणअनुसार व्यवसायीहरूको आर्थिक दृष्टिकोणप्रतिको विश्वासमा उल्लेखनीय वृद्धि भएको छ । तर व्यापारिक गतिविधि र नाफाको अवस्थामा भने अझै कमजोरी कायम रहेको संस्थाले आफ्नो डिसेम्बर त्रैमासिक आर्थिक प्रक्षेपणमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ