एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुवाङलाई पुनः नेतृत्वमा ल्याउने निर्णयले कर्पोरेट जवाफदेहिता, नैतिकता र ठूला कम्पनीमाथि कारबाही गर्ने क्षमताबारे बहस सुरु भएको छ ।



विश्लेषकहरूले कम्पनीको बोर्डले हुवाङलाई पुनर्बहाली गर्नु तत्कालीन आर्थिक तथा रणनीतिक आवश्यकतालाई प्राथमिकता दिएको निर्णयका रूपमा हेरेका छन् । हुवाङलाई हटाइराख्दा एनभिडियाको बजार मूल्यमा थप क्षति पुग्नुका साथै एआई उद्योग र अमेरिकी सरकारसम्म प्रभाव पर्न सक्ने जोखिम रहेको उनीहरूको तर्क छ ।
यसलाई सन् २००८ को अमेरिकी वित्तीय संकटसँग समेत तुलना गरिएको छ । त्यतिबेला लेहमन ब्रदर्स टाट पल्टिएपछि अमेरिकी सरकारले एआईजीलगायत ठूला वित्तीय संस्थालाई उद्धार गरेको थियो । तत्कालीन राष्ट्रपति जर्ज डब्लु. बुसले वित्तीय प्रणालीलाई संकटबाट जोगाउन ७०० अर्ब अमेरिकी डलरको राहत कोष प्रस्ताव गरेका थिए ।
हुवाङको राजीनामापछि एनभिडियाको बजार मूल्यमा २८ प्रतिशत गिरावट आएको दाबी गरिएको छ । ठूलो आर्थिक क्षतिको जोखिमपछि बोर्डले उनलाई पुनः नेतृत्वमा ल्याएको विश्लेषण गरिएको छ ।
यस्तो निर्णयले ‘मोरल हाजार्ड’ अर्थात् नैतिक जोखिम बढाउन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ । कुनै व्यक्ति वा कम्पनीको गैरजिम्मेवार व्यवहारका बाबजुद संकटका बेला संस्थाले जोगाइदिए भविष्यमा अझ जोखिमपूर्ण निर्णय गर्ने सम्भावना बढ्न सक्ने तर्क छ ।
सीएनएनका विश्लेषक डेभिड गोल्डम्यानले हुवाङलाई ‘वाकिङ मोरल हाजार्ड’ अर्थात् नैतिक जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













