राजनीति, समाजसेवा र दानकी खानी मैयाँदेवी श्रेष्ठ अब हामीबीच रहिनन् । विसं १९८५ फूलपातीका दिन तनहुँको बन्दीपुरमा जन्मिएकी श्रेष्ठको आइतबार ९८ वर्षको उमेरमा चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको छ । शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी तन, मन र धनले लागि परेकी श्रेष्ठ धेरैका लागि श्रेय र प्रिय थिइन् । राजनीतिमा निष्ठा, समाजसेवामा निस्वार्थ भाव र धर्ममा समभाव राख्ने उनी नेपाली समाजका लागि साहस, त्याग र समर्पणको पर्यायका रूपमा उभिएकी थिइन् ।

किशोरावस्थादेखि नै राणाशासनको क्रुर पञ्जाबाट देशलाई मुक्त गर्न राजनीतिमा प्रवेश गरेकी उनी नेपाली इतिहासको जीवन्त पात्र हुन् । विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश गरी मुलुकमा प्रजातान्त्रिक हक र हितका निम्ति अनवरत रूपमा उनले क्रान्तिमा सहभागिता जनाइन् । विसं २००७ माघ १ गतेका दिन सशस्त्र क्रान्ति गर्ने निर्णयअनुसार भएको कार्यक्रममा उनको भूमिका महत्त्वपूर्ण रह्यो । सो क्रान्तिमा छ जना उनका साथीले ज्यान गुमाएका थिए । तत्कालीन समयमा विसं २००८ मा तनहुँको बन्दीपुरमा सामाजिक नारी सङ्घ खोलेर महिलाको चेतना वृद्धि गर्दै विकासका काममा उनी अगाडि बढेकी थिइन् ।

विसं २०११ मा तिरो आन्दोलन सफल बनाउन, विसं २०१२ मा प्रजातान्त्रिक ग्रामीण महिला मण्डल, २०१३ सालमा राप्ती दुन विकास विभाग वितरण समिति, सोही वर्ष नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य रहेर उनले योगदान दिइन् । निधन हुनुअघि संवादमा बताएअनुसार विसं २०१४ मा भद्र अवज्ञा आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा बन्दीपुरमा मैयादेवी गिरफ्तारीमा परेकी थिइन् । विसं २०१५ को निर्वाचनमा पार्टीलाई विजयी गराउन उनको भूमिका महत्वपूर्ण रह्यो ।

विसं २०६२–६३ को जनआन्दोलन सम्म सक्रियपूर्वक राजनितिमा लागेकी श्रेष्ठ विसं २०६४ मा संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेकी थीइन् । आफ्नो जीवनभर अरूका लागि समर्पित उनी दान गरेर कहिल्यैँ थाकिन् ।

सानातिना उनका सहयोगको कुनै गणना नै छैन । नारायणगढस्थित बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा उनले दान गरिन् । मैयाँदेवी कन्या कलेज चितवनलाई १२ कठ्ठा जग्गा खरिदका साथै भवन निर्माणका लागि लागेको सम्पूर्ण खर्च उनले नै बहन गरिन् । नेपाली कांग्रेस भरतपुर वडा नं ३ लाई कार्यालय बनाउन उनले जग्गा उपलब्ध गराइन् ।

उनले भक्त थानेश्वर महाप्रभुलाई धार्मिक मन्दिर निर्माणका लागि मैयाँदेवी मार्गमा रु एक करोड बराबरको जग्गा दान गरेकी छिन् । उनले आफूलाई सहयोग गर्ने ऋषि गौतम, हरिनारायण सापकोटा, शिश्वासर बाजे (पुरेत), षडानन्द लामिछाने (पुरेत), सुल श्रेष्ठ, सुरला पिया, दुर्गा श्रेष्ठ, सुस्मिता श्रेष्ठ, टिना श्रेष्ठ, टङ्कनाथ पौडेल, स्वामी कैलाशानन्द सरस्वती, थानेश्वर महाप्रभु र मन्दिरा श्रेष्ठलाई भूमिदान गरिन् ।

यसैगरी देवी कार्की, इन्दिरा (भान्से(), ब्रम्हचारी नारायण फलारी बाबा, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, खिनाकुमारी श्रेष्ठ, पतञ्जली योग समिति, नेवा पुच ः नारायणगढ, विष्णुमाया श्रेष्ठ, दिव्यराज श्रेष्ठ, युनिभर्सल पिस फेडेरेसन, नेपाली कांग्रेस चितवन, नेपाल प्रेस युनियन चितवन लगायतका संस्था र व्यक्तिलाई पनि उहाँले करोडौंँ मूल्य बराबरको जग्गा दान गर्नुभएको पुस्तकमा उल्लेख छ । उनका धर्मपुत्र टङ्कनाथ पौडेलले अहिले हिसाब गर्दा आमाले दान गरेका जमिनको मूल्य रु एक अर्ब बढी हुने बताए ।
श्रोत : सामाजिक सन्जाल

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ