काठमाडौँ, ३० फागुनः


विगत साढे चार दशकदेखि प्रदूषित बन्दै गएको बाग्मती नदीलाई शुद्ध बनाई बाग्मतीको जलले पशुपतिनाथलाई स्नान गराउन ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ गर्ने तयारी भएको छ ।
आज आयोजित पत्रकार साक्षात्कार एवं प्राज्ञिक उद्बोधन कार्यक्रममा आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवम् पवित्र बाग्मती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) गर्न लागिएको जानकारी दिइएको हो ।
पशुपतिनाथ, पाशुपतक्षेत्र तथा बाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने पदयात्राको मुख्य उद्देश्य रहेको महेश सन्न्यास आश्रमका पीठाधीश एवम् ‘महेश संस्कृत गुरुकुलम्’ का अध्यक्ष स्वामी रमणानन्द गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार बाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं बाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गर्न लागिएको हो । स्वामी गिरिको सत्सङ्कल्पमा पदयात्रा गर्न लागिएको जनाइएको छ ।
आगामी चैत १५ गते पशुपति शङ्कराचार्यमठमा बृहत् पशुपति यात्राको समुद्घाटन गरिने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । सोहीदिन पशुपतिपूजन तथा बाग्मती गङ्गाको विशेष आरती गरिने छ । चैत १६ गते पशुपति क्षेत्रबाट आदिलिङ्ग कुशेश्वरतर्फ यात्रा गरिने छ । पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट हुने स्वामी गिरिले बताउनुभयो ।
कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुरलगायत क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शनका लागि पनि पैदल यात्रा गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तीमा ३५–४० दिनमा बाग्मती प्रदेशका १० जिल्लामा रहेका सिद्धलिङ्गको तीर्थयात्रा सम्पन्न हुने अनुमान गरिएको छ ।
पदयात्राका संयोजक पण्डित कपिलदेव सुवेदीले ६४ शिवलिङ्गको यस किसिमको यात्रा प्रताप मल्लपछि अहिले गर्न लागिएको जानकारी दिनुभयो । पदयात्रा समितिका सचिव श्यामकृष्ण सुवेदीले ६४ शिवलिङ्गमध्ये २४ वटा काठमाडौँमा रहेका जानकारी दिनुभयो । उहाँका अनुसार पदयात्राका क्रममा काठमाडौँ वरपरका १० जिल्लाबाट तीनपटक पशुपतिनाथको परिक्रमा हुनेछ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














