काठमाडौँ, १२ चैतः

आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरुले शपथ लिनुभएको छ । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराउनुभएको थियो ।

सिंहदबारस्थित संसद् भवनमा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सांसदहरुले शपथ लिनुभएको हो । मातृभाषामा शपथ ग्रहण गर्ने सांसदहरुमा यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले अवधि, आकृति अवस्थीले डोटेली, गङ्गा छन्त्यालले छन्त्याल, करिस्मा कठरियाले ‘कठरीया थारू’ भाषामा शपथ लिनुभएको छ ।

त्यसैगरी निश्कल राईले चाम्लिङ र दीपकराज बोहराले डोटेली भाषामा शपथ लिनुभयो । सुजाता तामाङ र परशुराम तामाङले तामाङ भाषामा शपथ लिनुभयो । कान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, पुष्पाकुमारी चौधरी, प्रमिलाकुमारी गच्छदार र सुरेन्द्र चौधरीले थारू भाषामा शपथ लिनुभयो ।

अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन, कपा महर्जन, विराजभक्त श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, बुद्धरत्न महर्जन, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जितले नेपाल भाषामा शपथ लिनुभएको छ ।

नितिमा भण्डारी (कार्की), रबिन महतो, रवीन्द्र पटेल र राजेशकुमार चौधरीले बज्जिका भाषामा शपथ लिनुभयो । त्यसैगरी ऐनबहादुर महरले बझाङ्गी भाषामा शपथ लिनुभयो ।

माधवराज राईले बान्तावा, कन्हैया बनिया, अरविन्द साह, बुद्धिप्रसाद पन्त, सुशीलकुमार कानुले भोजपुरी भाषामा शपथ लिनुभयो । रेनुका काउचाले मगर खाम भाषामा शपथ लिनुभयो । प्रमोदकुमार महतो, राजकिशोर महतोले मगही भाषामा शपथ लिनुभयो ।

अङ्किता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, दीपककुमार साह, कामिनी कुमारी, जोगकुमार बरबरिया यादव, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्रसाह कलवार, निशा मेहता, पुरुषोत्तम शुप्रभात यादव, मनिष झा, मातृकाप्रसाद यादव, रामजी यादव, रुवी कुमारी, शम्भुकुमार यादव, शिव शङ्कर यादव,सीताराम साहले मैथिली भाषामा शपथ लिनुभयो । कृपाराम रानाले राना थारू भाषामा शपथ लिनुभयो ।

त्यसैगरी पूर्णप्रसाद लिम्बू,सन्तोष सुब्बा, सुहाङ नेम्बाङले लिम्बू मातृभाषामा शपथ लिनुभयो । खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिनुभएको हो । प्रतिनिधिसभाका सहायक प्रवक्ता (उपसचिव) अनन्तप्रसाद कोइरालाले मातृभाषामा शपथ लिने भनेर सुरुमा ६२ जनाले नाम टिपाउनु भएकामा पछि बिस्तारै थपिँदै गएको र कतिले लिएको भन्ने यकिन गर्ने काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ