खोटाङ, २ वैशाखः


नयाँ वर्ष २०८३ को अवसरमा वैशाख–१ गते खोटाङका पर्यटकीयस्थलमा दिनभर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो । जिल्लामा केही वर्षयता मात्रै नयाँ वर्षको अवसर पारेर पर्यटकीयस्थल घुम्न जाने, सामूहिकरुपमा वनभोज खाँदै रमाइलो गर्ने प्रचलन ह्वात्तै बढेको छ ।
नयाँ वर्षको पहिलो दिन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी, भुलभुले, बगरेभञ्ज्याङ, काङ्साहोप ताल, बाँझोबारी, हलेसी नगरपालिकाको तुवाचुङ–जायजुम, भुम्जुडाँडा, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा, होङ्मा पोखरी, बराहपोखरी गाउँपालिकाको बराहपोखरी, केपिलासगढी गाउँपालिकाको केपिलासगढी, मैयुङ, चिलिमढुङ्गा, खोटेहाङ गाउँपालिकाको, रोक्सिमभञ्ज्याङ, कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ, टेम्के र स्याल्मे, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मैस्याङटार, रावाबेँसी गाउँपालिकाको डुम्रेकोटगढी र प्रिमाकोटगढी, ऐसेलुखर्क गाउँपालिकाको बहानेपोखरी र झुलेडाँडालगायत पर्यटकीयस्थलमा नयाँ वर्ष मनाउने पर्यटकको बाक्लो घुइँचो लागेको थियो ।
खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल टेम्केडाँडामा जिल्लाका सबै स्थानीय तह तथा छिमेकी जिल्लाहरु उदयपुर, सुनसरी, सङ्खुवासभा, इलाम, तेह्रथुम, पाँचथरलगायतका पर्यटक पुगेका थिए । समुद्री सहतदेखि तीन हजार १० मिटर उचाइमा पर्ने पर्यटकीयस्थल टेम्केडाँडामा भ्यू–टावर निर्माणाधीन अवस्थामा छ । प्राकृतिकरुपमै पर्यटकीयस्थल टेम्केडाँडामा कोशी प्रदेश सरकारको लगानीमा फलामे ट्रस जडान गरेर भ्यू–टावर निर्माण सुरु गरेपछि निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् ।
पछिल्लो समय जिल्लाका पर्यटकीयस्थलमा स्थानीय बासिन्दा बाहेक कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, युवायुवती, वृद्धवृद्धा, युगल जोडीसमेतको बाक्लो उपस्थिति देखिने गरेको छ । नयाँ वर्ष मनाउनका लागि राँगा, खसी, सुँगुर, कुखुराको भाले, पेय पदार्थसहित पर्यटकीयस्थल पुगेका जिल्लावासीहरुले सुख, शान्ति, समृद्धिको कामना गर्दै एकापसमा शुभकामना आदानप्रदान गर्छन् ।
ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरु घण्टौँ पैदलयात्रापछि पर्यटकीयस्थल पुगेर सामूहिक रुपमा वनभोज खाँदै, नाचगान र रमाइलो गरेर नयाँ वर्ष मनाउने गरेका छन् । सडक सञ्जालमा जोडिएका कतिपय स्थानीय तहका बासिन्दा रिजर्भ गरिएका गाडी तथा मोटरसाइकल लिएर पर्यटकीयस्थलमा पुग्ने गरेका छन् ।
वर्षको सुरुका दिन रमाइलो गर्दा वर्षभरि हर्ष र खुसी मिल्ने विश्वासका साथ नयाँ वर्षलाई विशेष महत्व दिएर मनाउने गरिएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका सञ्जीव राईले बताउनुभयो । “वर्षभरि विभिन्न कामले थकित भइन्छ । नयाँ वर्ष लागेसँगै केही नयाँ काम गरौँ भन्ने सबैमा हुन्छ”, उहाँले भन्नुभयो, “वर्षको सुरुका दिन रमाइलो गर्दा वर्षभरि हर्ष र खुसी मिल्ने जनविश्वास छ । त्यसैले नयाँ वर्षलाई विशेष महत्व दिने गरिएको हो ।”
पछिल्लो समय पर्यटकीयस्थलबाहेक अग्ला–अग्ला थुम र डाँडामा समेत नयाँ वर्ष मनाउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । दिक्तेल बजारको सबैभन्दा नजिक रहेको पर्यटकीयस्थल रुपाकोट र मझुवागढीमा नयाँ वर्षको अघिल्लो दिनदेखि नै सर्वसाधारणको बाक्लो घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन् ।
चारैतिर घना जङ्गलले घेरिएको पर्यटकीयस्थल रुपाकोटमा दिक्तेल, खार्मी, नुनथला, जालपा, पाथेका, नेर्पा, लफ्याङ, खाल्लेलगायका बुढापाका, युवायुवती र बालबालिकाको चहलपहल हुन्छ । परिवारका सदस्य, साथीभाइ र आफन्तसहित पर्यटकीयस्थल रुपाकोट पुगेका सर्वसाधारण गीत तथा दोहोरी गाउँदै नाचेर रमाइलो गर्छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














