काठमाडौँ, ३० जेठः

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताउनुभएको छ । नेपाल पर्यटन बोर्ड र स्पा सङ्घ नेपालको आयोजनामा विश्व आरोेग्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आगामी दश वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले आरोग्य दशक मनाउनका लागि आवश्यक नीति तथा रणनीति निर्माण प्रक्रिया अघि बढिरहेको बताउनुभयो । आरोग्य पर्यटन अध्ययनलाई होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

मन्त्री पौडेलले नेपाल आध्यात्मिक भूमि भएकाले यहाँको हिमाल, नदी, वनजङ्गल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो । “पर्यटनको सबैभन्दा ठूलो आधार खुसी हो, आजको विश्वले सबैभन्दा बढी खोजिरहेको विषय पनि खुसी हो । नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ, जसलाई व्यवस्थित रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले विश्वभर करिब ७० करोड मानिस आरोग्य पर्यटनसँग आबद्ध रहेका उल्लेख गर्दै स्पालाई केवल विश्राम र मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई रोगको रोकथाम र स्वस्थ जीवनशैलीको महत्वपूर्ण अङ्गका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले स्पा तथा आरोग्य क्षेत्रको व्यवस्थित विकासका लागि स्पष्ट कार्यविधि, अन्तरराष्ट्रियस्तरको सेवा प्रणाली तथा तीन महिनाको व्यावसायिक तालिम र प्रमाणीकरण प्रणाली आवश्यक रहेको उल्लेख गर्नुभयो । “विश्व आरोग्य दिवस विगत १५ वर्षदेखि निरन्तर मनाइँदै आएको छ, नेपालमा पनि आरोग्य पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले स्पाको इतिहास बेल्जियमका तातोपानीको कुण्डसँग जोडिएको स्मरण गर्दै नेपालमा आयुर्वेद जीवनशैलीकै अभिन्न हिस्सा रहेको बताउनुभयो । उहाँले स्पा क्षेत्रलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा विकास गर्नु समयको आवश्यकता रहेकाले सरकारले सोको तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

स्पा सङ्घ नेपालका सचिव रामदेव महतोले आधुनिक समाजमा स्पा केवल मसाजको पर्याय नभई शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य प्रवद्र्धन गर्ने प्रभावकारी माध्यम बनेको बताउनुभयो । बढ्दो तनाव, व्यस्त जीवनशैली र मानसिक दबाबबाट मुक्ति दिलाउन स्पा सेवाले महत्वपूर्ण भूमिका खेलिरहेको उहाँको भनाइ छ । उहाँले आरोग्य पर्यटनको विस्तारसँगै स्पा सेवा मानसिक शान्ति, स्वस्थ जीवनशैली र समग्र कल्याणको आधार बन्दै गएको उल्लेख गर्नुभयो ।

अन्तरराष्ट्रिय आरोग्यविज्ञ डोनाल्ड चाले नेपाल आफैँमा आरोग्यको प्रतीक रहेको भन्दै योग, ध्यान, उपचार पद्धति, स्पा तथा आध्यात्मिक अभ्यासलाई आर्थिक मूल्यमा रूपान्तरण गरी पर्यटन उद्योगको महत्वपूर्ण आधार बनाउनुपर्ने बताउनुभयो । मलेसिया स्पा सङ्घका प्रतिनिधि खेम धामीले स्वस्थ भोजन, स्वस्थ जीवनशैली र क्यान्सरजस्ता रोगविरुद्ध जनचेतना अभिवृद्धिका लागि विश्व आरोग्य दिवससँग सम्बन्धित अभियान आगामी वर्षमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो ।

आरोग्य पर्यटन, योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार र स्पा सेवाको समन्वयमार्फत नेपाललाई विश्वस्तरीय आरोग्य गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिएको स्पा सङ्घ नेपालका महासचिव अमृत थोकरले जानकारी दिनुभयो । उहाँले स्पा आयुर्वेद जीवनशैलीसँग जोडिएको विषय भएकाले वर्तमान समयमा स्वस्थ जीवनशैलीका लागि यसको महत्त्व रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ