महेन्द्रनगर (धनुषा), ३० जेठः

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गर्दै सङ्गठनात्मक एकता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ ।

आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित ‘नेपाली कांग्रेस एकता, पार्टी सुदृढीकरण तथा देशको समसामयिक राजनीतिक विषयमा छलफलका लागि मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उहाँले विचार र दृष्टिकोणमा फरकपन हुनु लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भए पनि त्यसलाई विभाजन वा टकरावका आधार बनाउन नहुने विचार व्यक्त गर्नुभयो ।

उहाँले पार्टीभित्र देखिएको असन्तुष्टि, सङ्गठन सञ्चालनका विषयमा उठेका प्रश्न तथा नेतृत्वप्रतिको गुनासोलाई खुला छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसको मुख्य शक्ति यसको लोकतान्त्रिक संस्कार, कार्यकर्ताको समर्पण र सङ्गठनात्मक एकतामा रहेको बताउनुभयो । पार्टीलाई आगामी दिनमा थप सशक्त, प्रभावकारी र जनमुखी बनाउन सबै पक्षले साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

निधिले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको आवश्यकता रहेको उल्लेख गर्दै कांग्रेसले संविधान, लोकतन्त्र, सङ्घीयता, समावेशिता र सामाजिक न्यायका पक्षमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक एकता बलियो भए मात्र कांग्रेसले जनताको अपेक्षाअनुसार काम गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।

भेलाका संयोजक तथा राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुङ्गानाले भेलाको उद्देश्यबारे जानकारी गराउँदै पार्टीभित्र देखिएका विभिन्न धारणा र असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाबाट व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कांग्रेसको सङ्गठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउने, कार्यकर्ताको भावना नेतृत्वसमक्ष पु¥याउने तथा समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले कांग्रेसभित्र उठेका प्रश्नहरूलाई निषेध वा बेवास्ता गरेर होइन, खुला बहस र छलफलमार्फत समाधान खोज्नुपर्ने बताउँदै पार्टी एकता नै सबैको साझा प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । लोकतान्त्रिक पार्टीभित्र फरक मत रहनु अस्वाभाविक नभएको उल्लेख गर्दै उहाँले ती मतलाई सम्मानपूर्वक व्यवस्थापन गर्न सकिए सङ्गठन थप बलियो बन्ने विचार व्यक्त गर्नुभयो ।

नेता उमाकान्त चौधरीले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई व्यवहारमा उतार्न नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध थप मजबुत हुनुपर्ने बताउनुभयो । उहाँले पार्टीको निर्णय प्रक्रिया पारदर्शी, सहभागितामूलक र कार्यकर्तामैत्री हुनुपर्ने धारणा राख्दै सङ्गठनलाई चलायमान बनाउन तल्लो तहका कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नेता मोहनबहादुर बस्नेतले कांग्रेसलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित राख्न सङ्गठनात्मक सुधार, नेतृत्वको उत्तरदायित्व, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेता गुरुप्रसाद बरालले कांग्रेसभित्र उठेका आवाज र बहसलाई पार्टीको लोकतान्त्रिक जीवनको अभिन्न अङ्गका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले फरक विचार राख्नेहरूलाई विरोधीका रूपमा नभई पार्टीलाई थप सुदृढ बनाउन योगदान गर्ने पक्षका रूपमा हेर्नुपर्ने धारणा राख्दै अन्ततः सबैको लक्ष्य कांग्रेसलाई बलियो बनाउने नै रहेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले मधेस प्रदेशका कार्यकर्ताको भावना, सङ्गठन विस्तार, जनसम्पर्क अभिवृद्धि र पार्टी सुदृढीकरणका विषयमा आफ्नो धारणा राख्नुभयो । उहाँले पार्टीको सङ्गठनात्मक संरचनालाई सक्रिय र प्रभावकारी बनाउन कार्यकर्ताको भूमिका निर्णायक हुने बताउनुभयो ।

भेलाको अध्यक्षता नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले गर्नुभएको थियो । अध्यक्षीय मन्तव्यमा उहाँले कांग्रेसभित्र एकता कायम राख्दै सङ्गठनलाई बलियो बनाउने दिशामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्रको संवाद र सहकार्यलाई सुदृढ गर्दै लोकतान्त्रिक संस्कारलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ