पर्वत, ३१ जेठः


जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन् ।
चौविसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन नसक्ने भएपछि आज घरमै लगेर नागरिकता वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसहित कार्यालयका कर्मचारी, स्थानीय वडाध्यक्ष भरत जिसी लगायतको सहभागितामा नागरिकता हस्तान्तरण गरिएको हो ।
कार्यालयसम्म आएर सेवा लिन नसक्नेहरुलाई नागरिकता जस्तो महत्वपूर्ण कागजातबाट वञ्चित हुन नपरोस् भनेर घरमै ल्याएर वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अपाङ्गताको प्रकृति हेर्दा अत्यन्तै दयनीय रहेकाले सदरमुकाममा बोलाने कुनै उपायसमेत नभएको बताउनुभयो ।
नागरिकता पाएसँगै राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सहयोग प्राप्त गर्न सहज हुने प्रजिअ पौडेलको भनाइ छ । पीडित सुनिताका बाबु काला सुनारले पोलियो रोगका कारण छोरीको यस्तो अवस्था भएको बताउनुभयो । जुनसुकै अस्पतालमा लैजाँदा पनि निको हुन नसकेको बताउँदै उहाँले पूर्ण रुपमा अपाङ्गता हुँदा परिवार नै समस्यामा परेको बताउनुभयो । खाना खुवाउने, सरसफाइ गरिदिन एक जना पूर्ण रुपमा खटिनुपर्दा परिवारको अन्य गुजारा चलाउन समस्या भएको सुनारले बताउनुभयो ।
सुनिताका दुई दाजुको स्वास्थ्य अवस्था राम्रै छ । तेस्रो सन्तानको रुपमा जन्मिएकी उनी सुरुका आठ महिनासम्म ठीकठाकै भए पनि त्यसपछि स्वास्थ्य बिग्रिदै गएको र अपाङ्गताले थलिँदै गएको सुनारले बताउनुभयो । नागरिकता बनेसँगै अब नियमित वडा कार्यालवाट भत्ता दिइने जलजला–६ का वडाध्यक्ष भरत जिसीले जानकारी दिनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










