वासिङ्टन, ३१ जेठ :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा मनाउँदै ह्वाइट हाउस परिसरमै भव्य युएफसी प्रतियोगिता आयोजना गर्नुभएको छ । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवसँग जोडिएको यो कार्यक्रमले खेल, राजनीति र राष्ट्रिय उत्सवलाई एकै मञ्चमा ल्याएको छ भने यसको स्वरूपलाई लिएर विवाद पनि चर्किएको छ ।

‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यस विशेष कार्यक्रममा १४ जना अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) का चर्चित खेलाडीहरू ‘द क्लो’ नामक विशाल अखाडामा प्रतिस्पर्धा गर्दैछन् । करिब छ करोड डलर लागतको यो कार्यक्रम अमेरिकी स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको भए पनि राष्ट्रपति ट्रम्पको ८०औँ जन्मदिनसँग संयोगवश जुधेको छ ।

कार्यक्रमलाई लिएर आलोचना पनि भइरहेको छ । आलोचकहरूले इरानसँग तनाव र युद्धको अवस्था जारी रहेका बेला ह्वाइट हाउसको ऐतिहासिक परिसरमा हिंसात्मक खेल आयोजना गर्नु अनुपयुक्त भएको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार युद्धका कारण विश्व बजारमा मूल्यवृद्धि भइरहेका बेला यस्तो प्रदर्शनले गलत सन्देश दिन सक्छ ।

यद्यपि राष्ट्रपति ट्रम्पले कार्यक्रमको खुलेर समर्थन गर्नुभएको छ । मे महिनामा ओभल अफिसमा युएफसी खेलाडीहरूसँग भेटघाटका क्रममा उहाँले यसलाई दर्शकका लागि अविस्मरणीय अनुभव हुने बताउनुभएको थियो ।

ह्वाइट हाउसका अनुसार कार्यक्रमको सम्पूर्ण खर्च युएफसीले नै व्यहोरेको छ । युएफसीका प्रमुख सामग्री अधिकारी क्रेग बोर्सारीले खेल र राजनीतिलाई जोडिएको आरोप अस्वीकार गर्दै यो अमेरिकी खेलाडी र राष्ट्रको उत्सव भएको बताउनुभयो ।

कार्यक्रमलाई अझ विशेष बनाउन केही खेलाडीहरू ऐतिहासिक ओभल अफिसबाट बाहिर निस्केर साउथ लनस्थित अखाडासम्म पुग्ने व्यवस्था गरिएको छ । आठ कोण भएको तारजालीयुक्त पिँजडा अर्थात् अष्टभुजभित्र हुने प्रतिस्पर्धा हेर्न चार हजारभन्दा बढी दर्शकका लागि सिटको व्यवस्था गरिएको छ ।

प्रतिस्पर्धामा सहभागी युएफसी लडाकू माइकल च्यान्डलरले यसलाई लडाइँ खेलकुद इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता बताउनुभयो । फ्रान्सेली लडाकू सिरिल गेनले पनि आफू राजनीतिभन्दा खेलमा केन्द्रित रहेको उल्लेख गर्दै विश्वसामु खेल प्रस्तुत गर्ने अवसर महत्त्वपूर्ण भएको धारणा राख्नुभयो ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार समारोहमा ऐतिहासिक झलक प्रस्तुत गर्ने विशेष कार्यक्रम, सैन्य ब्यान्ड, सैन्य विमानको उडान प्रदर्शन, प्यारासुट प्रदर्शन तथा अन्त्यमा १० मिनेट लामो आतशबाजी हुनेछ ।

यस कार्यक्रमलाई रोक्न स्थानीय बासिन्दाले अदालतमा दायर गरेको निवेदन शुक्रबार अस्वीकृत भइसकेको छ । त्यससँगै कार्यक्रम आयोजना गर्ने कानूनी अवरोध पनि हटेको छ ।

ट्रम्पको जन्मदिनसँग जोडिएको यो कार्यक्रमले वासिङ्टनको ठूलो क्षेत्र प्रभावित बनाएको छ । लिङ्कन मेमोरियल नजिक खेलाडीहरूको तौल मापन गरिएको छ भने नेशनल मल क्षेत्रमा विशाल पर्दामार्फत करिब एक लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसबीच राष्ट्रपति ट्रम्पको उमेर र स्वास्थ्यबारे पनि बहस जारी छ । उहाँले प्रायः आफ्नो सक्रियतालाई पूर्वराष्ट्रपति जो बाइडेनसँग तुलना गर्ने गर्नुभएको छ । यद्यपि ट्रम्प स्वयं पनि हातको चोट, खुट्टाको शिरासम्बन्धी समस्या तथा सार्वजनिक कार्यक्रममा थकान देखिएको विषयमा चर्चामा रहनुभएको छ । तर उहाँका चिकित्सकले राष्ट्रपति उत्कृष्ट स्वास्थ्य अवस्थामा रहेको बताएका छन् ।

हालै सार्वजनिक एक भिडियोमा ट्रम्पले ८० वर्ष पुगेकोमा आफू पूर्ण रूपमा खुसी नभएको स्वीकार गर्दै ‘यो मलाई मनपर्ने सङ्ख्या होइन, तर म यहाँ छु’ भन्नुभएको थियो ।

विश्लेषकहरूका अनुसार रियालिटी टेलिभिजनको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गर्नुभएका ट्रम्पले सार्वजनिक प्रदर्शन र भव्य कार्यक्रमलाई आफ्नो राजनीतिक शैलीको महत्त्वपूर्ण हिस्सा बनाउँदै आउनुभएको छ । जर्ज वासिङ्टन विश्वविद्यालयका सञ्चारविद् पिटर लोगेका अनुसार ट्रम्पले राष्ट्रपतिको भूमिकालाई पनि आफ्नो पूर्व सार्वजनिक जीवनकै शैलीमा प्रस्तुत गरिरहनुभएको छ ।

गत वर्ष आफ्नो जन्मदिनका अवसरमा ट्रम्पले अमेरिकी सेनाको २५०औँ वार्षिकोत्सवसँग सम्बन्धित भव्य सैन्य परेडको निरीक्षण गर्नुभएको थियो । यस वर्ष भने उहाँको जन्मदिन खेल, शक्ति प्रदर्शन र राष्ट्रिय उत्सवको मिश्रित स्वरूपका कारण थप चर्चामा आएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ