धरान (सुनसरी), ४ असारः साँझ पर्न थालेको छ । सवारीहरु भेडेटार चोकमा लामबद्ध छन् । केही पर्यटक होटलबाट चेकआउट गर्दैछन्, केही दिनभरको घुमफिरपछि घर फर्कने तयारीमा छन् । तर उनीहरूको यात्रा अझै पूरा भएको छैन ।

गाडी चढ्नुअघि धेरैजसो पर्यटकहरु सडकछेउका तरकारी पसलतर्फ लम्किएका छन् । कसैले रायोको साग किनिरहेका छन् त कसैले अकबरे खुर्सानी रोज्दै छन् । कतिपयले त किबी, आलु, सिमी र बोडीका झोला गाडीको डिक्कीमा हालिसकेका छन् ।

पहिलो नजरमा यो सामान्य व्यापारजस्तो देखिए पनि यसले भेडेटारको बदलिँदो आर्थिक र सामाजिक चित्रलाई बयान गरिरहेको छ । एकातिर गर्मीबाट राहत खोज्दै पहाड उक्लिने पर्यटक छन् भने अर्कोतिर उनीहरूकै आगमनले जीवन धान्ने किसान र व्यापारी । पछिल्ला वर्षहरूमा भेडेटार केवल चिसो मौसमको गन्तव्य मात्र बनेको छैन, यो स्थानीय कृषि उत्पादनको महत्वपूर्ण बजारका रूपमा पनि विकसित हुँदै गएको छ ।

तराईमा तापक्रम बढ्नासाथ भेडेटारको चहलपहल बढ्न थाल्छ । विराटनगर, इटहरी, धरान, दमक, इनरुवा, झापा र आसपासका सहरबाट दैनिक हजारौँ मानिस शीतल हावा खोज्दै यहाँ आइपुग्छन् । समुद्री सतहबाट एक हजार चार सय ३० मिटर उचाइमा रहेको भेडेटारको मौसम उनीहरूका लागि केही घण्टाको भए पनि राहतको अनुभूति हो ।

एकैछिन घाम लाग्ने, केही बेरमै कुहिरोले डाँडा ढाक्ने, अनि फेरि चिसो हावाले शरीर स्पर्श गर्ने भेडेटारको आफ्नै लय छ । यही लयले वर्षौँदेखि पर्यटकलाई आकर्षित गर्दै आएको छ । तर अहिले पर्यटकको आकर्षण केवल मौसममा सीमित छैन । यहाँको अर्को आकर्षण बनेको छ, स्थानीय किसानको खेतबाट सिधै बजारमा पुगेको ताजा अर्गानिक उत्पादन ।

भेडेटार चोकमा विगत १६ वर्षदेखि तरकारी तथा फलफूल व्यापार गर्दै आउनुभएका दिपेश मगरका अनुसार गर्मी याम सुरु भएसँगै व्यापारको स्वरूप नै बदलिन्छ । बिहानैदेखि तरकारी बोकेका गाडीहरू आइपुग्छन् । धनकुटाको राजारानी, नाम्जे, थुम्की, मूलघाट, डाँडाबजार र भोजपुरका गाउँहरूबाट ल्याइएका ताजा उत्पादनहरू पसलमा सजाइन्छन् । दिनभर पर्यटकको भीड लाग्छ र साँझसम्म अधिकांश सामग्री बिक्री भइसकेको हुन्छ ।

“पहिले मानिसहरू घुम्न आउँथे र फर्किन्थे,” मगर भन्नुहुन्छ, “अहिले धेरैजसोले फर्किँदा तरकारी पनि लैजान्छन्, पहाडको उत्पादन स्वादिलो र ताजा हुन्छ भन्ने विश्वास उपभोक्तामा बढेको छ ।” उनका अनुसार बजारमा विषादीयुक्त तरकारीको चर्चा बढिरहेका बेला उपभोक्ताहरू अर्गानिक र स्थानीय उत्पादनप्रति आकर्षित भएका छन् ।

स्थानीय किसान बुद्ध राईका अनुसार पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीको स्वाद फरक हुन्छ । “यहाँको माटो, पानी र मौसमले उत्पादनलाई विशेष बनाउँछ,” उहाँले भन्नुभयो, “कहिलेकाहीँ मूल्य केही बढी पर्छ, तर ग्राहकले गुणस्तरका कारण स्वीकार गर्छन् ।”

पर्यटकका कारण स्थानीय कृषकको जीवनमा पनि परिवर्तन आएको छ । केही वर्षअघिसम्म गाउँमा उत्पादन भएको तरकारी बेच्न किसानले बजार खोज्नुपथ्र्यो । अहिले भने बजार आफैँ किसानको ढोकासम्म पुगेको अनुभूति हुन्छ । पर्यटकको माग बढेपछि उत्पादन बढाउने किसान पनि बढेका छन् । कतिपयले नयाँ बाली लगाउन थालेका छन् भने कतिले व्यावसायिक खेतीतर्फ पाइला चालेका छन् ।

पर्यटन र कृषिबीचको यही सम्बन्धले भेडेटारलाई अन्य पर्यटकीय गन्तव्यभन्दा फरक बनाएको छ । यहाँ आउने पर्यटक केवल प्राकृतिक सौन्दर्य हेरेर फर्किँदैनन्, उनीहरूले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान पनि पु¥याउँछन् ।

विराटनगरबाट साथीहरूसँग भेडेटार घुम्न आएकी सरिता शर्मा हातमा सागसब्जीको झोला बोकेर मुस्कुराउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “यहाँ आउँदा मौसमको मज्जा त पाइन्छ नै, फर्किँदा घरका लागि ताजा तरकारी पनि लैजान पाइन्छ, अहिले त भेडेटार आएर तरकारी नकिनी फर्किएजस्तो लाग्दैन ।”

सरिताको अनुभव धेरै पर्यटकसँग मेल खान्छ । कतिपयले आफ्ना लागि किन्छन्, कतिपयले आफन्तलाई कोसेलीका रूपमा लैजान्छन् । यसरी स्थानीय उत्पादन भेडेटारबाट पूर्वी तराईका सहरहरूसम्म पुगिरहेको छ ।

होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठका अनुसार अहिले दैनिक ३० देखि ४० हजार पर्यटक भेडेटार पुग्ने गरेका छन् । सप्ताहन्त र सार्वजनिक बिदाका दिन यो संख्या ६० हजार हाराहारी पुग्छ । तीमध्ये केही पर्यटक रात बिताउँछन् भने धेरैजसो केही घण्टा घुमेर फर्किन्छन् । तर छोटो बसाइ भएका पर्यटकले पनि स्थानीय बजारमा खर्च गर्ने भएकाले आर्थिक गतिविधि उल्लेख्य रूपमा बढेको छ ।

भेडेटारमा अहिले साना–ठूला गरी डेढ सयभन्दा बढी होटल सञ्चालनमा छन् । होटल, रेष्टुराँ, चिया पसल, कृषि उत्पादन विक्रेता, ढुवानी व्यवसायी, हस्तकलाका व्यापारी सबै पर्यटनसँग जोडिएका छन् । पर्यटकको आगमनले एउटा सम्पूर्ण स्थानीय अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ ।

भेडेटार आसपासका पाथीभरा मन्दिर, स्काइ वाक, शङ्खेश्वर महादेव मन्दिर, नाम्जे, नमस्ते झरना, शैलुङडाँडा, चाल्र्स प्वाइन्ट, गुम्बा तथा ध्वजेडाँडाजस्ता गन्तव्यले पनि पर्यटकलाई आकर्षित गरिरहेका छन् । यी स्थल घुम्ने क्रममा पर्यटक स्थानीय गाउँसम्म पुग्छन् र त्यहाँको उत्पादनसँग परिचित हुन्छन् । यसले ग्रामीण पर्यटन र कृषि दुवैलाई फाइदा पु¥याएको छ ।

विशेषज्ञहरूका अनुसार स्थानीय उत्पादन र पर्यटनलाई जोड्न सकिए ग्रामीण विकासको दिगो मोडेल निर्माण गर्न सकिन्छ । भेडेटारमा त्यही सम्भावना विस्तारै देखिन थालेको छ । यहाँको कृषि उत्पादनले पर्यटकलाई आकर्षित गरिरहेको छ भने पर्यटकले किसानलाई बजार उपलब्ध गराइरहेका छन् । दुवै पक्षले एकअर्कालाई बलियो बनाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ