बागलुङ, १० भदौः

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै नागरिकलाई उच्च मनोबलका साथ सुरक्षित गर्न तैनाथ हुने बताउनुभएको छ । उहाँले प्रहरी र नागरिकको सहकार्यबाट मात्रै सभ्य तथा अपराधरहित समाज निर्माण गर्न सकिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा निर्माण सम्पन्न भएका चार ब्यारेक तथा आवास भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै महानिरीक्षक कार्कीले समुदायको अपनत्व र साथबिना प्रहरी सफल हुन नसक्ने बताउनुभयो । अपराध कम गर्न तथा अनुसन्धानमा नागरिकको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो । दिनभर सुरक्षामा खटिएको प्रहरीलाई आराम गर्ने कक्षको बागलुङ सदरमुकाममै अभाव भएकामा भवन बनेपछि सहज भएको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा रु नौ करोड ७१ लाखको लागतमा ब्यारेक, मेस, हिरासत कक्ष र वरिष्ठ प्रहरी अधिकृत आवास तथा कार्यालय प्रमुख निवास गरी चार भवन निर्माण गरिएका छन् । नागरिक प्रहरी कार्यालयमा आउँदा आफ्नै घर सम्झेर विश्वासका साथ आउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक कार्कीले प्रहरीलाई थप प्रविधिमैत्री र परिस्कृत बनाउन आवश्यक रहेको बताउनुभयो । नेपालभर २८५ वटा प्रहरी युनिट जोखिमपूर्ण अवस्थामा छन् भने थप ९७० प्रहरी युनिटको माग भइरहेको उहाँले बताउनुभयो ।

विसं २०७९ देखि निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालयको उक्त भवन २०८३ जेठमा सम्पन्न भएकाले प्रहरीले भाडामा बस्नुपर्ने अवस्थाको अन्त्य भएको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ