काठमाडौँ, १४ भदौः


भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा पूजा र गुह्येश्वरी मन्दिरमा चण्डीपाठ गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले बाढी, पहिरो तथा विपद्बाट प्रभावितको जनजीवन शीघ्र सहज बनोस्, घाइतेको शीघ्र स्वास्थ्यलाभ होस् तथा बेपत्ता भएकाको सकुशल उद्धार होस् भन्ने कामनासहित यही भदौ १६ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म महारुद्री, चण्डीपाठ तथा क्षमापूजा गर्न लागेको हो ।
कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार पशुपतिनाथमा १२१ जना ब्राह्मणद्वारा महारुद्री, अभिषेक, हवन तथा पूजा गरिनेछ । गुह्येश्वरी शक्तिपीठमा नौ जना ब्राह्मणद्वारा चण्डीपाठ तथा पूजा गरिनेछ ।
पशुपतिका नवशक्तिपीठ, आगमघर, ११ महारुद्र, १० दिक्पाल, क्षेत्रपाल तथा विभिन्न देवदेवीको तान्त्रिक तथा वैदिक विधिबाट विशेष क्षमापूजा र शान्तिपाठसमेत गरिने उहाँले राससलाई जानकारी दिनुभयो ।
यसैबीच, कोषको कार्यवाहक सदस्य–सचिवको समेत जिम्मेवारी सम्हालिरहनुभएकी कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु सात लाख सहयोग गर्ने निर्णय गरेको सदस्य भण्डारीले जानकारी दिनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










