लन्डन, ८ कात्तिक (रासस/सिन्ह्वा):
बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच स्वतन्त्र आवतजावत पुनःस्थापना गर्ने सम्भावनाबारे तथ्य र प्रमाणमा आधारित खुला छलफल गर्न आह्वान गर्नुभएको छ । ईयूसँगको सम्बन्ध थप सुदृढ बनाउने विकल्पबारे उहाँको सरकारले विचार गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो ।

‘द सन्डे टाइम्स’ सँगको अन्तर्वार्तामा बर्नह्यामले यस विषयमा तथ्यपरक र प्रमाणमा आधारित बहस आवश्यक रहेको बताउनुभयो ।

उहाँले ब्रेक्जिटअघि स्वतन्त्र आवतजावतका कारण बेलायतले केही महत्वपूर्ण चुनौती सामना गर्नुपरेको स्वीकार गर्नुभयो । तर, बेलायतले ईयू छाडेयता आप्रवासनको स्वरूप परिवर्तन भएको उल्लेख गर्दै विगत र वर्तमानका अवस्थाबीचको भिन्नताबारे इमान्दार छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

बर्नह्यामले ब्रेक्जिटपछि बेलायतले ईयूका केही आप्रवासनसम्बन्धी सूचना आदानप्रदान प्रणालीमा पहुँच गुमाएको विषय पनि उठाउनुभयो । यसमा शरण आवेदन व्यवस्थापनमा सहयोग गर्ने ईयूको बायोमेट्रिक डाटाबेस ‘युरोड्याक’ पनि समावेश छ ।

यद्यपि, प्रधानमन्त्रीले बेलायतले युरो मुद्रा अपनाउने वा आन्तरिक सीमा जाँच हटाइएको शेन्जेन क्षेत्रमा सामेल हुने प्रस्ताव आफूले नगरेको स्पष्ट पार्नुभयो ।

बर्नह्यामले आगामी नोभेम्बर २० मा ब्रसेल्समा ईयू नेताहरूसँग भेट गर्ने कार्यक्रम छ । उक्त बैठकमा उहाँले ईयूसँग बेलायतको भावी सम्बन्धका सम्भावित विकल्पबारे छलफल गर्ने सङ्केत गर्नुभएको छ ।

सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीले प्रस्तुत गरेको घोषणापत्रमा स्वतन्त्र आवतजावत पुनःस्थापना गर्ने, ईयूको एकल बजारमा पुनः सामेल हुने वा भन्सार सङ्घमा प्रवेश गर्ने प्रतिबद्धता गरिएको थिएन ।

प्रधानमन्त्री बर्नह्यामले ती प्रतिबद्धता पालना गर्ने वाचा गर्दै आउनुभएको छ । त्यसैले आगामी आमनिर्वाचनअघि ईयूसँगको सम्बन्धमा आधारभूत परिवर्तन हुने सम्भावना कम देखिएको छ ।

बेलायतले सन् २०२० मा ईयूबाट औपचारिक रूपमा अलग भएपछि दुई पक्षबीच व्यापार, आप्रवासन र सुरक्षा सहकार्यलगायत विषयमा सम्बन्ध पुनःपरिभाषित गर्ने प्रयास जारी राखेका छन् ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ