नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसर पारेर विशेष छुट सुविधासहितको ‘सर्वसुलभ आवास कर्जा’ योजना सार्वजनिक गरेको छ।बैंकले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसरमा ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा छुटसहित उक्त योजना ल्याएको हो।

योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण, घर मर्मत तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन्। बैंकका अनुसार यस कर्जाको प्रारम्भिक प्रिमियम ब्याजदर ०.५ प्रतिशतबाट सुरु हुनेछ भने कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ। कर्जामा सेवा शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको योजनाको बारेमा बैकँका अधिकारी प्रतिभा डंगोलले बिस्व समाचारलाई बताउनु भयो ।

यस योजनाअन्तर्गत कर्जा लिने ग्राहकले बैंकबाट पाँच लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। बैंकले सार्वजनिक गरेको यो योजना २०८३ कात्तिक १५ गतेदेखि २०८३ माघ १५ गतेसम्म अर्थात् ९० दिनका लागि लागू हुनेछ।

नेपाल बैंक लिमिटेडले हाल देशभर २३१ शाखा, २५० एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

बैंकले दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक बैंकिङ प्रविधिको प्रयोगमार्फत ग्राहक सेवामा सुधार गर्दै आएको जनाएको छ। छिटोछरितो तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको बैंकले पछिल्लो समय आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तारलाई समेत तीव्रता दिएको छ।

नेपालकै पहिलो बैंकका रूपमा परिचित नेपाल बैंक लिमिटेडले आफ्नो ९० वर्षे यात्रालाई थप प्रभावकारी बनाउँदै सर्वसाधारणको बैंकिङ पहुँच विस्तार र ग्राहक सेवामा नयाँपन ल्याउने लक्ष्यसहित विभिन्न योजना तथा सुविधा सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ