काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए । उनले ३१ बलमा ३ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ४ चौकासहित ३० रन बनाए भने निरोशन डिकवेलाले १७ बलमा १ चौका र २ छक्काको मद्दतमा २८ रन जोडे ।

त्यस्तै, अली शेखले १२ बलमा २ चौका र २ छक्कासहित २४ रन तथा डार्सी सर्टले २१ रनको योगदान गरे ।

लुम्बिनीका ओपनर आसिफ शेख व्यक्तिगत १ रनमा आउट भए । स्कट कुगेलेइनको बलमा एलबीडब्लू आउट भएका उनले रिभ्यु लिए पनि निर्णय उल्टिन सकेन । छैटौं ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरीले डार्सी सर्टलाई बोल्ड गरे ।

३५ रनमा २ विकेट गुमाएको अवस्थामा रोहित र डिकवेलाले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । डिकवेला ११औं ओभरमा थरिन्दु रत्नायकेबाट बोल्ड भए ।

त्यसपछि रोहितले दिलीप नाथसँग ३४ रनको साझेदारी गरे । रोहित १५औं ओभरको अन्तिम बलमा रनआउट भए । त्यसपछि आएका सन्दीप जोरा ४ रन बनाएर आउट भए ।

दिलीप नाथ र अली शेखले छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरेपछि लुम्बिनीले सम्मानजनक योगफल तयार पारेको हो । दिलीप अन्तिमसम्म क्रिजमा रहे भने रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ विकेट लिए । थरिन्दु रत्नायके, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ