काठमाडौँ, १५ जेठ
सरकारले आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा ऊर्जा क्षेत्रलाई पुनः परिभाषित गर्दै महत्वका साथ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले केही ठूला आयोजनाको निर्माण सुरु गर्ने र प्रसारण लाइन निर्माणलाई पनि उत्तिकै महत्व दिएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने विषयलाई स्पष्टसँग सरकारले आफ्नो बजेटमा उल्लेख गरेको छ । आगामी आवको बजेटमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत बूढीगण्डकी जलविद्युत् परियोजनाका सम्बन्धमा रहेको अन्यौलतासमेत हटेको छ । सो आयोजना निर्माणका लागि सरकारले यसअघि नै कम्पनी स्थापना गरिसकेको छ ।



अर्थमन्त्री डा प्रकाशशरण महतले आज प्रस्तुत गर्नुभएको आगामी आवको बजेटअनुसार रणनीतिक महत्वका आयोजनामा रुपमा रहेका पश्चिम सेती, सेती रिभर, तल्लो अरुणको निर्माण सुरु गरिनेछ । सुक्खायामको बिजुली व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको बूढीगण्डकी र दूधकोशी जलाशययुक्त आयोजनाको निर्माण सुरु गर्ने विषयलाई बजेटमा समावेश गरिएको छ ।
त्यसैगरी सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा बिजुली पुर्याउने कार्यक्रमलाई निरन्तरता दिएको छ । केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने स्थानमा लघु तथा साना जलविद्युत् आयोजना र सौर्य परियोजनामार्फत बिजुली पु¥याउने सरकारको लक्ष्य छ । आयातित इन्धनको प्रयोग कम गर्न सरकारले प्रतिव्यक्ति विद्युत् खपत चार सय ५० किलोवाट घण्टा पु¥याउने लक्ष्य लिएको छ ।
बजेटले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि निजी क्षेत्रको समेत लगानी रहने गरी चार्जिङ स्टेशन निर्माण गर्ने योजना अघि सारेको छ । यस्तै, आन्तरिक तथा अन्तरदेशीय प्रसारण प्रणालीको विकासका लागि सरकारले महत्वका साथ बजेट विनियोजन गरेको छ । नदी करिडोर प्रसारण लाइन, उत्तर-दक्षिण करिडोर निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ । त्यसमा कर्णाली करिडोर, भेरी र अरुण करिडोरलगायत छन् ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














