वासिङ्टन, १९ जेठ
ह्वाइट हाउसका एक उच्च अधिकारीले रूससँगको आणविक हतियारको वर्तमान सीमा कायम राख्न प्रस्ताव गर्नुभएको छभने उदीयमान शक्ति चीनलाई भविष्यमा हतियार नियन्त्रण प्रयासको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनमा आयोजित राष्ट्रिय हतियार नियन्त्रण सङ्घको वार्षिक बैठकमा जो बाइडन प्रशासनले शीतयुद्धपछिको आणविक परिदृश्यमा ‘पर्याप्त’ र ‘गहिरो’ समस्याको सामना गर्ने रूपरेखा प्रस्तुत गर्दै उक्त टिप्पणी गर्नुभएको हो ।

सुलिभानले अमेरिका र रूसबीच भएको पछिल्लो हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ सन् २०२६ मा सकिँदै गर्दा अमेरिका नयाँ सन्धि गर्न इच्छुक रहेको बताउनुभयो ।

यद्यपि, यसबीचमा वासिङ्टनले विश्वका दुई प्रमुख आणविक शक्ति राष्ट्रहरूलाई उक्त सन्धिको मूल मर्मअन्तर्गत राख्न चाहेको छ । सन्धिमा आणविक सम्पन्न राष्ट्रले एक हजार ५५० रकेट मात्र राख्न पाउने सीमा निर्धारण गरिएको छ ।

उहाँले मस्कोलाई सन् २०२६ पछिको संरचनाका लागि नयाँ वार्ता सुरु गर्न आह्वान गर्दै भन्नुभयो, “हाम्रा सबै द्विपक्षीय मतभेदहरू समाधान गर्न पर्खनुको सट्टा, संयुक्त राज्य अमेरिका आणविक जोखिम व्यवस्थापनका लागि रूसलाई संलग्न गर्न तयार छ ।

“सन् २०३५ सम्ममा (चीन) सँग एक हजार ५०० भन्दा बढी आणविक हतियार हुने छन्, जुन इतिहासकै सबैभन्दा ठूलो शान्तिकालको आणविक निर्माण मध्येको एक हो,” सुलिभानले भन्नुभयो । “संयुक्त राज्य अमेरिकाले आफ्नो इतिहासमा पहिलो पटक दुई निकटस्थ आणविक शक्ति राष्ट्रलाई रोक्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

एक वरिष्ठ अमेरिकी अधिकारीले पत्रकारहरूसँग भन्नुभयो, “चीनको बिषयमा वासिङ्टनले प्रत्यक्ष रूपमा खतराको व्यवस्थापन गर्नु मात्र होइन तर अमेरिकी आणविक सहयोगीहरू बेलायत र फ्रान्सका लागि सिर्जना गरिएको तरङ्गबारे विचार गर्नु पनि समावेश छ ।”

रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ