जेनेभा, ९ भदौ :
संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको कडा आलोचना गर्दै यसलाई ‘अत्यन्त आपत्तिजनक’ भनेको छ ।

राष्ट्रसङ्घको मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले मङ्गलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाले चङ्गा उडाएको आधारमा उनीहरूलाई धपाउने धम्की अस्वीकार्य भएको बताउनुभयो ।
“बालबालिकाले चङ्गा उडाएको कारण धपाउने धम्कीको सन्दर्भमा, यो अत्यन्त आपत्तिजनक कुरा हो भन्नेमा हामी सबै सहमत हुन सक्छौँ,” उहाँले भन्नुभयो ।

इजरायलले आइतबार गाजाबाट इजरायली क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउने क्रम जारी रहेमा सैन्य कारबाही तीव्र पार्ने चेतावनी हमासलाई दिएको थियो । पछिल्ला दिनमा यस्ता घटना बढेका छन् । हमासले भने यसको जिम्मेवारी अस्वीकार गरेको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार शनिबार गाजा सीमावर्ती बस्तीमा चारवटा चङ्गा फेला परेका थिए भने आइतबार इजरायली सेनाले एउटा चङ्गा खसालेको थियो । पछिल्ला केही दिनमा फेला परेका चङ्गाको सङ्ख्या करिब १० पुगेको बताइएको छ ।

यी घटनाले विगतमा गाजाबाट इजरायलतर्फ उडाइएका आगो लगाउने चङ्गा र बेलुनको घटनालाई पुनः स्मरण गराएको छ । त्यस्ता चङ्गा र बेलुनका कारण दक्षिणी इजरायलका कृषि क्षेत्रमा आगलागी भएका थियो ।

इजरायली अधिकारीका अनुसार पछिल्ला चङ्गा उडाउने घटनामा हमासको सङ्लग्नता हुन सक्ने आशङ्का गरिएको छ । ती चङ्गामा विस्फोटक पदार्थ भने नभएको र सम्भवतः इजरायलको प्रतिक्रिया परीक्षण गर्न त्यसो गरिएको हुन सक्ने इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै चङ्गा, ड्रोन र बेलुन उडाउनेकार्य तत्काल नरोके त्यसमा सङ्लग्न व्यक्तिविरुद्ध सैन्य कारबाही तीव्र पार्ने चेतावनी दिनुभएको थियो । उहाँहरूले त्यस्ता गतिविधि हुने क्षेत्रबाट बासिन्दालाई हटाउनेसमेत बताउनुभएको थियो ।

हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नाइमले ‘भग्नावशेषबीच आफ्नो निर्दोष बाल्यकाल खोजिरहेका बालबालिकाले’चङ्गा उडाएको दाबी गर्नुभएको छ ।

हमासले छुट्टै विज्ञप्तिमार्फत आइतबार मध्य गाजामा भएको इजरायली हवाई आक्रमणलाई चङ्गा उडाइएको घटनासँग जोडेको आरोप लगाएको छ । गाजाको नागरिक सुरक्षा उद्धार सेवाका अनुसार उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।

राष्ट्रसङ्घकी प्रवक्ता शमदासानीले इजरायलको पछिल्लो चेतावनी अधिकारीको उच्च तहबाट आएका आपत्तिजनक अभिव्यक्तिको शृङ्खलामध्येको पछिल्लो भएको बताउनुभयो ।

उहाँले त्यस्ता अभिव्यक्तिले अन्तरराष्ट्रिय मानव अधिकार तथा मानवीय कानुनप्रति पूर्ण अनादर देखाएको र गम्भीर हिंसालाई प्रोत्साहन गर्ने जोखिम रहेको बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ