कास्की, १६ जेठः

गण्डकी प्रदेशस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ एक सय मिटर दौडमा कास्कीका सुदीप भण्डारी र एन्जल अधिकारीले स्वर्ण पदक जितेका छन् ।

छात्रतर्फ सुदीपले ११ दशमलव नौ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जित्दा, कास्कीका प्रज्वल खड्काले ११ दशमलव २५ सेकेन्ड समयका साथ रजत पदक जिते । स्याङ्जाका रोहित सिंह कास्य जिते ।

छात्रातर्फ अधिकारीले १४ दशमलव चार सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् । यस विधामा नवलपुरकी आरती विकले १४ दशमलव २७ सेकेण्ड लगाएर रजत र कास्कीकी शिक्षा खड्गीले १४ दशमलव ७२ सेकेण्ड समय लगाउँदै कास्य पदक जितेकी छन् ।

पोखरा रङ्गशालामा आज एथलेटिक्सतर्फका विभिन्न विधा सञ्चालन गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड बाग्लुङमा सञ्चालन भइरहे पनि खराब मौसमका कारण एथलेटिक्स खेल भने पोखरा रङ्गशालामा सारिएको गण्डकी एथलेटिक्स सङ्घका महासचिव मनबहादुर थापाले बताउनुभयो ।

“रनिङ शिल्डका सबै खेल बागलुङमा हुने योजनाअनुसार खेलाडी सबै पुगिसकेका थिए, तर वर्षाका कारण बागलुङको बाङ्गेचौर खेल मैदानमा खेलाउने अवस्था रहेन । त्यसपछि पोखरा फिर्ता भएर यहाँ खेलाइएको हो”, उहाँले भन्नुभयो ।

एथलेटिक्सतर्फ नवलपुर चार स्वर्ण र चार रजत पदकसहित शीर्ष स्थानमा छ । यसैगरी गोरखाले चार स्वर्ण र दुई कास्य, कास्कीले दुई स्वर्ण चार रजत र तीन कास्य पदक जित्न सफल भयो । यसैगरी तनहुँले दुई स्वर्ण र एक कास्य, लमजुङले तीन रजत र तीन कास्य तथा बागलुङले दुई कास्य जितेको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताबाट एथलेटिक्सतर्फ सबै इभेन्टमा १६औँ संस्करणको केन्द्रीय राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट गरिने सङ्घका महासचिव थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ