काठमाडौं । तिहारको मुख्य दिन भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले भाइटीका लगाएका छन्।
दिदीबहिनी वा दाजुभाइ नभएका व्यक्तिहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा पुगेर पूजा तथा दर्शन गरी एकअर्कालाई टीका लगाउने गर्छन्। यही परम्पराअनुसार आज पनि बिहानैदेखि मन्दिरमा टीका लगाउन आउने भक्तजनको चहलपहल देखिएको छ।



भाइटीकाका दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिने गर्छन्।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्र खुला गरिने भएकाले यस दिन यहाँ विशेष भीड लाग्ने गर्छ। दिदीबहिनी वा दाजुभाइ नभएका व्यक्तिहरूका लागि यो मन्दिरमा पुगेर भाइटीका लगाउने परम्परा निकै महत्वपूर्ण मानिन्छ।
भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिन्छ। बालगोपालेश्वर मन्दिरमा मनाइने भाइटीकाले भने परिवारमा दिदीबहिनी वा दाजुभाइ नभएकाहरूलाई पनि यो पर्व मनाउने अवसर प्रदान गर्दै आएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













