सोलुखुम्बु । हिमाली क्षेत्रमा चिसो बढ्दै गएपछि सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो सात दिनमा खुम्बु क्षेत्रबाट हवाई मार्ग हुँदै एक हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश गरेका छन् ।

प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या ६५१ ले बढी रहेको छ । यसले सगरमाथा क्षेत्रको शरद् पर्यटन सिजन क्रमशः सकिँदै गएको सङ्केत गरेको छ ।

सगरमाथा क्षेत्रमा असोज र कात्तिक महिनामा पर्यटकको चाप बढी हुने गर्दछ । मनसुनपछि मौसम सफा हुने र हिमाल स्पष्ट देखिने भएकाले यस समयमा पर्यटकको आगमन बढ्ने गरेको छ । तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्दै जाने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटक फर्किने क्रम तीव्र हुने गरेको छ ।

प्रहरीका अनुसार पछिल्लो सात दिनमा खुम्बु क्षेत्रबाट ८७७ विदेशी र ३०३ नेपाली पर्यटक बाहिरिएका छन् । सोही अवधिमा ३७४ विदेशी र १५५ नेपाली पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेका छन् ।

स्थानीयका अनुसार नाम्चे क्षेत्रमा रातको समयमा तापक्रम माइनसमा पुग्न थालेको छ । राति र बिहान पानी जम्न थालेपछि चिसो बढेको महसुस हुन थालेको स्थानीय दाली शेर्पाले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट पर्यटक बाहिरिने क्रम अझ बढ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ