जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभरका व्यापार, व्यवसाय तथा बजार क्षेत्र चौबिसै घण्टा सञ्चालन गर्ने तयारी थालेको छ । यसका लागि आवश्यक सुरक्षा व्यवस्था र पूर्वाधार सुनिश्चित गर्ने काम भइरहेको प्रशासनले जनाएको छ ।



हाल काठमाडौँका दरबारमार्ग र ठमेल क्षेत्र चौबिसै घण्टा खुला छन् । ती क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीलाई भने प्रशासनले तत्कालका लागि साविककै समयअनुसार व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । अर्को सूचना जारी नभएसम्म तोकिएको समयसीमाभन्दा बाहिर व्यवसाय सञ्चालन नगर्न प्रशासनले सूचित गरेको छ ।
तयारी पूरा भएपछि मात्र काठमाडौँका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिने सूचनामा उल्लेख छ ।
प्रशासनका अनुसार काठमाडौँ नेपालको सङ्घीय राजधानी तथा महत्त्वपूर्ण स्थान भएकाले जिल्लाभर चौबिसै घण्टा सेवा सञ्चालन गर्न भरपर्दो सुरक्षा प्रबन्धसँगै आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्नेछ । यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीको पर्याप्त व्यवस्था आवश्यक रहेको जनाइएको छ ।
त्यस्तै, जिल्लाका अन्य स्थानमा पनि व्यापार, व्यवसाय तथा बजार क्षेत्र चौबिसै घण्टा सञ्चालन गर्ने विषयमा स्थानीय तह, विभिन्न विभाग तथा कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग समन्वयात्मक बैठक आयोजना गर्ने प्रशासनको तयारी छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मंगलबार सूचना जारी गर्दै काठमाडौँका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्ने उद्देश्यसहित रणनीतिक तयारी भइरहेको जानकारी दिएका हुन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













