काठमाडौं, ६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन् ।
प्रधानमन्त्री शाहसहितको नेपाली प्रतिनिधिमण्डल सवार नेपाल वायुसेवा निगमको विमान केहीबेरअघि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।



प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन् । त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जाने कार्यक्रम छ । सोही होटलमा आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । आजका लागि यसबाहेक अन्य औपचारिक भेटघाट तय गरिएको छैन ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटवार्ता हुनेछ । उनले बिहान १० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ । सो क्रममा दुवै प्रधानमन्त्रीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता हुने तयारी छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै प्रधानमन्त्रीको उपस्थितिमा सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ ।
प्रधानमन्त्री शाह र मोदीबीचको भेटवार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ ।
यसैगरी, नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यासँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













