काठमाडौँ, १५ साउनः


सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटमा नेपाल-इजरायलबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सूचना प्रविधि, डिजिटल रूपान्तरण, दूरसञ्चार, कृषि, शिक्षा र मानव स्रोत विकासका क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल भएको हो ।
भेटका क्रममा राजदूत बासले सन् १९६० देखि नेपाल-इजरायलबीच रहेको मैत्रीपूर्ण सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गर्दै सूचना प्रविधि, डिजिटल नवप्रवर्तन, कृषि आधुनिकीकरणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न इजरायल प्रतिबद्ध रहेको बताउनुभयो ।
सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालले सूचना तथा सञ्चार प्रविधिमार्फत सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै डिजिटल पूर्वाधार, दूरसञ्चार प्रविधि र नवप्रवर्तनका क्षेत्रमा इजरायलको अनुभव तथा असल अभ्यासबाट नेपाल लाभान्वित हुनसक्ने बताउनुभयो । उहाँले सूचना प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा नेपाली युवाका लागि तालिम, अध्ययन र व्यावसायिक अनुभवका अवसर विस्तार गर्न आग्रह गर्नुभयो ।
भेटमा दुवै पक्षबीच सूचना प्रविधि, डिजिटल रूपान्तरण तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएका थिए ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










