काठमाडौँ, १५ साउनः


नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जिल्लाको लिखु गाउँपालिकाको समग्र विकास निर्माण, स्थानीय पूर्वाधार र नागरिकका अपेक्षाबारे जानकारी लिनुभएको छ ।
आज सञ्चार मन्त्रालयमा लिखु गाउँपालिकाका स्थानीयवासी, जनप्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका जिल्ला सभापति रामेश्वर गजुरेल, पार्टीका विभिन्न वडा सभापति तथा पदाधिकारीसँग छलफल गरी स्थानीय तहमा देखिएका समस्या र विकासका आवश्यकताबारे विस्तृत जानकारी लिनुभएको हो ।
छलफलका क्रममा स्थानीयवासीले जिल्लामा रासायनिक मलको अभाव हुँदा कृषकले खेतीपातीमा कठिनाइ भोगिरहेका, स्थानीयस्तरमा उत्पादन हुने कृषिउपजले उचित बजार नपाउँदा किसान निरुत्साहित भइरहेका, पर्याप्त सिँचाइ सुविधा नहुँदा कृषि उत्पादन प्रभावित हुनुका साथै सडक पूर्वाधारको स्तरोन्नति आवश्यक रहेको विषय उठाउनुभएको थियो । लिखु गाउँपालिकामा सञ्चालन भइरहेका विकास निर्माणलाई थप प्रभावकारी र तीव्र बनाउनुपर्ने उहाँहरूको माग थियो ।
सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि सबैभन्दा पहिले त्यहाँका जनप्रतिनिधि र स्थानीयस्तरबाट आवश्यक पहल र सक्रियता हुनुपर्ने बताउनुभयो । स्थानीय आवश्यकता पहिचान गरी योजनाबद्ध रूपमा अघि बढेमा विकास निर्माणलाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइ छ ।
सञ्चारमन्त्री तिमिल्सिनाले विकासका जटिल तथा दीर्घकालीन समस्या समाधानका लागि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीच प्रभावकारी समन्वय, सहकार्य तथा सामूहिक पहल अपरिहार्य रहेको उल्लेख गर्नुभयो । तीन वटै तहका सरकारबीचको सहकार्यबाट मात्रै नागरिकका अपेक्षाअनुसार विकासका कामलाई परिणाममुखी बनाउन सकिने उहाँले बताउनुभयो ।
नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रूपमा जिल्लाका नागरिकले उठाएका समस्याप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले जिल्लाको विकास, पूर्वाधार विस्तार तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित विषयलाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय समुदाय तथा सम्बन्धित निकायबीच सहकार्य र निरन्तर संवाद कायम रहँदा विकास निर्माणलाई गति दिन र स्थानीय आवश्यकता सम्बोधन गर्न थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । डा तिमिल्सिनाले यसअघि ककनी, तादीलगायत जिल्लाका विभिन्न पालिकाका समस्याबारे पनि छुट्टाछुट्टै जानकारी लिनुभएको थियो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










