भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका छन्।

मङ्गलबार अदालतमा भएको सुनुवाइमा जुरीले ३९ वर्षीय भट्टलाई दोषी ठहर गरेको हो। भट्टले यसअघि ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गर्दै आफूले शव टुक्राटुक्रा पारेको र विभिन्न ठाउँमा फालेको स्वीकार गरेका थिए। तर, उनले ममताको हत्या गरेको भने अस्वीकार गरेका थिए।

२८ वर्षीया ममता सन् २०२४ जुलाई २७ देखि अचानक बेपत्ता भएकी थिइन्। उनी भर्जिनियाको मानाससस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। उनको खोजीका लागि परिवार र साथीहरूले व्यापक अभियान चलाएका थिए।

ममताको शव भने अहिलेसम्म फेला परेको छैन। अदालतमा बयान दिँदै भट्टले ममतालाई घरमा अचेत अवस्थामा भेटेको र होसमा ल्याउन नसकेपछि आत्तिएर शव टुक्राटुक्रा पारेको बताएका थिए।

फैसला आएपछि ममताकी साथी होली विर्थले ‘सत्य बाहिर आएको’ भन्दै परिवारले न्याय पाएको अनुभूति गरेको बताइन्। उनले ममताकी छोरीलाई आमाले दिएको माया र उनको जीवनबारे सधैँ सम्झाइरहने प्रतिबद्धता व्यक्त गरिन्।

मुद्दाको सुनुवाइ करिब छ हप्तासम्म चलेको थियो। यस क्रममा ममताकी आमा, भाइ, साथी तथा अन्य व्यक्तिहरूले अदालतमा बयान दिएका थिए।

भट्टलाई आगामी मार्च १२ मा सजाय सुनाउने तयारी छ। प्रथम श्रेणीको हत्यामा उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। अदालतले उनको धरौटीमा रिहा हुने सुविधा पनि खारेज गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ