काठमाडौं, १ मंसिर। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ८३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ३ अर्ब ८ करोड रुपैयाँ अर्थात् ३.८४ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा राष्ट्र बैंकले ८० अर्ब ४८ करोड रुपैयाँ खुद नाफा गरेको थियो। विदेशी विनिमय सञ्चिति बढेसँगै त्यसबाट प्राप्त ब्याज आम्दानीमा सुधार आएपछि केन्द्रीय बैंकको नाफा बढेको हो।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले विदेशी मुद्राबाट १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ९४ अर्ब ८१ करोड रुपैयाँ थियो।

यस्तै, सुनचाँदीको मूल्यमा भएको परिवर्तनबाट राष्ट्र बैंकले ७१ अर्ब ७१ करोड रुपैयाँ लाभ प्राप्त गरेको छ भने विदेशी विनिमय दरमा भएको उतारचढावबाट २ खर्ब ५४ अर्ब ८३ करोड रुपैयाँ लाभ देखिएको छ। यद्यपि, सुनचाँदी तथा विदेशी विनिमयको मूल्यांकनबाट देखिएको लाभ नगदमा परिणत भइसकेको छैन।

राष्ट्र बैंकले कानुनअनुसार विभिन्न सञ्चिति कोषमा रकम छुट्याएपछि बाँकी रहेको ४२ अर्ब रुपैयाँ सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले उक्त रकम नेपाल सरकारलाई दिने निर्णय गरेको हो। अघिल्लो आर्थिक वर्षमा पनि राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ नै हस्तान्तरण गरेको थियो।

यसैबीच, गत आर्थिक वर्षमा नेपालको कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले वृद्धि भएको छ। २०८३ असार मसान्तसम्म सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। उक्त सञ्चितिले २३ महिनाको वस्तु आयात तथा १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, गत आर्थिक वर्षमा कुल वस्तु निर्यात १३.८ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने आयात १६.२ प्रतिशतले वृद्धि भई २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार उक्त अवधिमा चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँ र शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँ बचतमा रहेको छ। वार्षिक औसत उपभोक्ता मुद्रास्फीति भने ३.०८ प्रतिशत कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ