काठमाडौं । निरोसन डिकवेलाको उत्कृष्ट अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीको जितमा विकेटकिपर ब्याटर निरोसन डिकवेलाले अविजित ५९ रन बनाए। उनले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले २८ बलमा २१ रनको योगदान दिए।
२४ रनमै दुई विकेट गुमाएको लुम्बिनीलाई डिकवेला र रोहितले ३८ रनको साझेदारी गर्दै सम्हालेका थिए। ओपनर डार्सी सर्ट शून्यमा आउट भए भने आसिफ शेखले ४ रन मात्रै बनाउन सके। दिलीप नाथ १० रनमा अविजित रहे। उनले विजयी छक्का प्रहार गरेका थिए।
सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई तथा स्कट कुगेलेइन र हेमन्त धामीले एक–एक विकेट लिए।
यसअघि टस जितेर बलिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रनमा रोकेको थियो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। उनले ५१ बलमा ३ चौका र एक छक्का प्रहार गरे। इशान पाण्डेले २७ रनको योगदान दिए।
सुरुमै दबाबमा परेको सुदूरपश्चिमका लागि दीपेन्द्र र इशानले चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
जितसँगै लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ र उपाधि रक्षा गर्ने अभियानमा एक कदम अघि बढेको छ।
पराजित भए पनि सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना कायमै छ। उसले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। बुधबार हुने एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













