सुर्खेत । कर्णाली करिडोरअन्तर्गत दक्षिण खण्डको ४१ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे हुने भएको छ। यसका लागि तीनवटा ठेक्काको बोलपत्र मूल्याङ्कन गरी निर्माण कम्पनी छनोट प्रक्रिया अघि बढाइएको छ।



कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको दक्षिण खण्डमा तीन भागमा सडक निर्माण गरिनेछ। खुलालु–कोट १३ किलोमिटर, भुक्का खोला–पिलिचौर १५ किलोमिटर र तुम्चा–सलिसल्ला १३ किलोमिटर सडक कालोपत्रे गरिने योजना छ।
योजना कार्यालयका अनुसार खुलालु–कोट खण्डका लागि यती बिल्डर्स प्रालि, भुक्का खोला–पिलिचौरका लागि लामा–सुनकोशी जेभी र तुम्चा–सलिसल्ला खण्डका लागि प्यासिफिक इन्जिनियरिङ कम्पनी प्रालिको बोलपत्र न्यूनतम मूल्याङ्कित तथा सारभूतरूपमा प्रभावग्राही ठहरिएको छ।
तीनवटै खण्डमा सडक संरचना निर्माण, कालोपत्रे, ट्राफिक सुरक्षा तथा जैविक इन्जिनियरिङका काम गरिनेछन्। यद्यपि ठेक्काको अन्तिम रकम यकिन र निर्माण सम्झौता हुन बाँकी छ।
यसैगरी, करिडोरको उत्तरी खण्डमा पनि दुईवटा ठेक्काको प्रक्रिया अघि बढेको छ। सिमकोटस्थित आयोजना कार्यालयका अनुसार दिव्यज्योति कन्स्ट्रक्सन प्रालि र एसकेसीपीएल/बीएनटी/बागमती जेभीको बोलपत्र स्वीकृत गर्ने आशय सार्वजनिक गरिएको छ।
भारतको जमुनाहादेखि चीनको हिल्सासम्म जोडिने कर्णाली करिडोरको कुल लम्बाइ ५०५ किलोमिटर छ। खुलालुदेखि हिल्सासम्मको मुख्य सडक आयोजना भने २६९ किलोमिटर लामो छ। यसमध्ये दक्षिण खण्ड १२३ किलोमिटर र उत्तरी खण्ड १४६ किलोमिटर रहेको छ।
सडक निर्माण सम्पन्न भएपछि हुम्लावासीलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, पर्यटन, कृषि उत्पादनको बजारीकरण र चीनसँगको व्यापारिक सम्पर्क विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













