८ मंसिर, काठमाडौं । नेपाली नागरिकले आगामी महिनादेखि भारतमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणपछि यससम्बन्धी प्रक्रिया अघि बढेको हो।
नेपाली र भारतीय भुक्तानी सेवा प्रदायकबीच आगामी एक महिनाभित्र क्यूआर भुक्तानी सेवा सुरु गर्ने लक्ष्यसहित सहमति भएको छ। यस विषयमा भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपालको फोनपेका अधिकारीहरूबीच छलफल भएको हो।



प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा पनि क्यूआर भुक्तानी सेवाबारे चासो व्यक्त गरिएको थियो। त्यसपछि भारतीय पक्षले सोमबार र मंगलबार नेपाली पक्षसँग सेवा कार्यान्वयनका विषयमा छलफल गरेको थियो।
छलफलमा सहभागी एक अधिकारीका अनुसार दुवै देशले आवश्यक पूर्वाधार तयार गरिसकेका छन्। दुवै पक्षबीच औपचारिक सहमति भएपछि सेवा सञ्चालन गर्न सकिने अवस्था रहेको छ।
यसअघि २०८० जेठमा भारत भ्रमणका क्रममा व्यक्ति–व्यक्ति र व्यक्ति–व्यापारीबीच डिजिटल भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो। त्यसमध्ये व्यक्ति–व्यक्तिबीचको भुक्तानी सेवा गत जेठदेखि कार्यान्वयनमा आए पनि क्यूआरमार्फत हुने व्यक्ति–व्यापारी भुक्तानी सेवा सुरु हुन बाँकी छ।
हाल नेपाल र भारतबीच बैंक खातामार्फत व्यक्ति–व्यक्तिबीच डिजिटल कारोबार गर्न सकिने व्यवस्था छ। क्यूआर सेवा सुरु भएपछि नेपाली नागरिकले भारतका विभिन्न व्यापारी तथा व्यवसायमा डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेछन्।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा पनि डिजिटल भुक्तानीसम्बन्धी समझदारी भएको थियो। उक्त समझदारीअन्तर्गत अन्तरदेशीय पीटुपी रेमिट्यान्स सेवा सुरु भइसकेको छ भने क्यूआर भुक्तानीलाई अर्को चरणका रूपमा अघि बढाइएको थियो।
हालसम्म बैंकबाट बैंकमा कारोबार गर्न नेपालका १२ बैंकले सहमति जनाइसकेका छन्। भारततर्फ भने १८ बैंक तथा वित्तीय संस्थाले यस्तो सेवा प्रदान गर्दै आएका छन्।
केन्द्रीय बैंकका एक अधिकारीका अनुसार विदेशी विनिमय सञ्चितिलाई ध्यानमा राखेर भारतमा रकम पठाउने व्यवस्थालाई व्यवस्थित गर्न सकिनेछ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














