काठमाडौँ, १ माघ
सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे÷नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिरकणलाई निर्देशन दिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।
“आन्तरिक उडानमा रहेका विमानको प्राविधिक पक्षको परीक्षण अनिवार्य गर्ने व्यवस्थाले हवाई दुर्घटना कम गर्न सघाउ पुग्ने हाम्रो अपेक्षा छ”, बैठकका निर्णयबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “बैठकले घटना प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।”
बैठकले दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । बैठकले माघ २ गते सोमबार दुर्घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ ।


घटनाबारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्य सरोकारवालाका लागि सम्पर्क र विश्वसनीय सूचनाको प्रबन्ध गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
आज बिहान करिब ११ बजे नेपालको हवाई दुर्घटनाको इतिहासमा अत्यन्त दुःखद घटना भएको उहाँको भनाइ छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका कमल केसीसहित ७२ जना सवार हुनुहुन्थ्यो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










