विराटनगर, १ फागुन
विराटनगर महानगरपालिकाले आइतबारदेखि विराटनगरको दक्षिणी क्षेत्रबाट स्वास्थ्य शिविर सुरु गरेको छ । महानगरले वडा नं १८ फडानी चोकबाट निःशुल्क एकीकृत स्वास्थ्य शिविर थालनी गरेको हो ।

स्वास्थ्य शिविरको महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्दै महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

उपप्रमुख शिल्पा निराला कार्कीले दक्षिणी क्षेत्रलाई महानगरले उच्च प्राथमिकता राखेको बताउँदै यस्ता शिविरबाट रोगको बेलैमा पहिचान हुन्छ र समयमै उपचार गर्दा पछि समस्या हुँदैन भन्नुभयो । प्रमुख प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, महानगरको सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नं १८ का अध्यक्ष जितेन्द्रकुमार साहलगायतले स्वास्थ्य शिविरबाट रोग लागे नलागेको पहिचान हुने धारणा राख्नुभयो ।

शिविरमा फिजिसियन, सर्जरी, स्त्री तथा प्रसूति रोग, बालरोग, मुख तथा दन्तरोग, छाला तथा यौनरोग, इसिजी सेवा, भिडियो एक्सरे, उच्च रक्तचाप, सुगर, क्षयरोगका बिरामीको खोजलगायतका सेवा प्रवाह गरिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।

तीमध्ये ९८ पुरुष र २२१ महिलाले स्वास्थ्य सेवा लिएको शिविरका फोकल पर्सनसमेत रहेका स्वास्थ्य अधिकृत भोलानाथ तिम्सिनाले बताउनुभयो । शिविरमा सबैभन्दा बढी छाला तथा स्त्रीरोगको समस्या भएका बिरामी आएको बताइएको छ । स्वास्थ्य समस्या देखिएकाको कोसी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ