लागोस, ६ मङ्सिर
नाइजेरियामा बन्दुकधारी एक समूहले आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थी र शिक्षकहरूलाई अपहरण गरेको एक इसाई समूहले शनिबार बताएको छ।

अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियाको नाइजर राज्यमा रहेको सेन्ट मेरिज को–एजुकेशन स्कुलमा शुक्रबार बिहान बन्दुकधारीले आक्रमण गरी २५ जना केटीलाई अपहरण गरी लगेका थिए ।

क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया (क्यान) ले पहिले २२७ जनालाई अपहरण गरेको बताएको थियो तर सङ्ख्यालाई अद्यावधिक गर्दै अपहरणमा परेका पीडितहरूको कुल सङ्ख्या ३०३ जना विद्यार्थी र १२ जना शिक्षक गरी ३१५ रहेको जानकारी गराएको छ।

सेन्ट मेरिज स्कूलबाट अपहरण गरिएका केटा र केटीहरूको सङ्ख्या विद्यालयको कुल विद्यार्थी सङ्ख्याको आधा हो ।

नाइजेरिया सरकारले अपहरणमा परेका विद्यार्थी र शिक्षकको सङ्ख्याबारे कुनै टिप्पणी गरेको छैन ।

नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले गुप्तचर विभाग र प्रहरीले ‘क्षतिको गणना’ गरिरहेको र दिनको अन्त्यसम्ममा तथ्याङ्क सार्वजनिक हुने बताउनुभएको छ।

अपहरणपछि सरकारले बागोका केही विद्यालयहरू बन्द गर्न आदेश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ