काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ अगस्टमा सत्ताच्युत भएपछि भारतमा बस्दै आएकी हसिनाले दिल्लीबाट ढाकासम्मको हवाई यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकी हुन् ।
समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानसँग राष्ट्रिय ध्वजावाहक विमानमार्फत स्वदेश फर्किने व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।



हसिनाका प्रवक्ता सैयद मोजाम्मेल अलीले विज्ञप्ति जारी गर्दै सन् २०२४ अगस्ट ५ मा बंगलादेशकै विमानबाट हसिनालाई भारत लगिएको उल्लेख गरेका छन् । अहिले भारतको दिल्लीबाट ढाका फर्किने व्यवस्था मिलाउन उनले सरकारसँग आग्रह गरेको विज्ञप्तिमा जनाइएको छ ।
डिसेम्बर १६ बंगलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि यही दिन बंगलादेश स्वतन्त्र भएको थियो । त्यसैले हसिनाले स्वदेश फर्किन यही दिन रोज्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन चर्किएपछि हसिनाले १५ वर्ष लामो सत्ता छाड्नुपरेको थियो । आन्दोलनका क्रममा सयौँ प्रदर्शनकारीको मृत्यु भएको थियो ।
हसिनालाई अनुपस्थितिमै मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो । तर उनले उक्त फैसला अस्वीकार गर्दै आएकी छन् । बंगलादेश फर्किएर मुद्दामा आफ्नो पक्ष राख्ने उनको भनाइ छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














