काराकास, २१ मङ्सिर
संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रूपमा शपथ ग्रहण गराउँदै सैन्य शक्ति विस्तार गर्ने निर्णयलाई सार्वजनिक गरेको छ ।


अमेरिकाले लागुऔषध तस्करीविरुद्ध कारबाही गर्ने नाममा क्यारिबियन क्षेत्रमा युद्धपोतको बेडा र विश्वकै सबैभन्दा ठूलो विमानवाहक जहाज तैनाथ गरेपछि मदुरोले व्यापक सैन्य भर्तीको आह्वान गर्नुभएको थियो । अमेरिकी सेनाले हालसालै २० भन्दा बढी जहाजमा घातक आक्रमण गरेको भनिएको छ, जसमा कम्तीमा ८७ जनाको मृत्यु भएको भेनेजुएलाले दाबी गरेको छ ।
वासिङ्टनले राष्ट्रपति मदुरोमाथि ‘कार्टेल अफ द सन’ नामक समूहको नेतृत्व गरेको आरोप लगाउँदै गत महिना यस समूहलाई आतङ्कवादी सङ्गठनका रूपमा सूचीबद्ध गरेको थियो । त्यसैबेला मदुरोले अमेरिकी सैन्य उपस्थितिको उद्देश्य आफूलाई सत्ताच्युत गर्नु र भेनेजुएलाको विशाल तेल भण्डार कब्जा गर्नु रहेको आरोप दोहोर्याउनुभयो ।
काराकासस्थित भेनेजुएलाको सर्वाधिक ठूलो सैन्य परिसर फुएर्टे टियुनामा आयोजित समारोहमा कर्नेल ग्याब्रियल रेन्डोनले ‘हामी कुनै पनि परिस्थितिमा साम्राज्यवादी शक्तिद्वारा आक्रमण हुन दिनेछैनौँ’ भन्दै नयाँ भर्ती सैनिकहरूलाई सम्बोधन गर्नुभयो ।
आधिकारिक तथ्याङ्कअनुसार भेनेजुएलामा हाल करिब दुई लाख सैनिक र थप दुई लाख प्रहरी तैनाथ रहेका छन् ।
यसैबीच, आतङ्कवाद र दङ्गा उक्साएको आरोपमा पक्राउ परेका एक पूर्व विपक्षी गभर्नर अल्फ्रेडो डियाजको शनिबार जेलमै मृत्यु भएको मानवअधिकार समूहहरूले पुष्टि गरेका छन् । डियाज सन् २०२४ नोभेम्बरपछि जेलमा मृत्यु हुने कम्तीमा छैटौँ विपक्षी व्यक्ति भएको फोरो पेनाल नामक एनजिओले जनाएको छ ।
गत जुलाईको विवादित निर्वाचनपछि उत्पन्न विरोध प्रदर्शनका क्रममा थुप्रै विपक्षी व्यक्ति पक्राउ परेका थिए । धोखाधडीको आरोप लागे पनि मदुरोले तेस्रो कार्यकालको दाबी गर्नुभएको थियो । ती विरोध प्रदर्शनमा २८ जनाको मृत्यु भएको र करिब दुई हजार ४०० जना पक्राउ परेका थिए । पछि तीमध्ये करिब दुई हजारलाई रिहा गरिएको थियो ।
फोरो पेनालका निर्देशक अल्फ्रेडो रोमेरोका अनुसार डियाजलाई एक वर्षसम्म एकान्त कोठामा राखिएको थियो र उहाँकी छोरीलाई मात्र एक पटक भेट्न अनुमति दिइएको थियो । समूहका अनुसार भेनेजुएलामा हाल कम्तीमा ८८७ राजनीतिक बन्दी रहेका छन् ।
विपक्षी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडोले ‘चुनावपछिको दमन’ का क्रममा राजनीतिक बन्दीहरूको मृत्युको कडा निन्दा गर्नुभएको छ । एडमन्डो गोन्जालेज उरुटियासँगको संयुक्त विज्ञप्तिमा उहाँले लेख्नुभएको छ, “उपचार अस्वीकार, अमानवीय वातावरण, अलगाव, यातना तथा अपमानजनक व्यवहार समावेश यी मृत्युका अवस्थाले राज्य दमनको निरन्तर ढाँचालाई उजागर गर्छन् ।”
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














