काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावना र सकारात्मक दिशामा अघि बढाएको बताएका छन्।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले प्रधानमन्त्रीको दुईदिने भारत भ्रमणका उपलब्धिबारे जानकारी दिँदै भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।

भ्रमणका क्रममा हवाई, रेल, सडक, ऊर्जा, व्यापार, पारवहन, शिक्षा तथा पूर्वाधार विकासका क्षेत्रमा महत्त्वपूर्ण सहमति भएका छन्। काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन भारत सहमत भएको छ भने जनकपुर–अयोध्या रेल सेवाको संयुक्त उद्घाटन गरिएको छ।

त्यसैगरी दार्चुला–धारचुला जोड्ने मोटरेबल पुल उद्घाटन, बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास तथा तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गरिएको छ। पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम रूप दिन पनि दुवै देशका प्रधानमन्त्रीले निर्देशन दिएका छन्।

ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न प्रसारण लाइन निर्माण गर्ने सहमति हुनुका साथै मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा आएको छ। झापा–सिलिगुडी पाइपलाइनको समेत शिलान्यास गरिएको छ।

व्यापार तथा पारवहन सहजीकरणतर्फ नेपालले कोलकाता र विशाखापट्टनमका अतिरिक्त भारतका दीनदयाल र पारादीप बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको छ।

भ्रमणका क्रममा भारतले नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। साथै नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस स्थापना गर्ने निर्णय भएको छ।

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका थिए।

परराष्ट्रमन्त्री खनालका अनुसार भ्रमणका क्रममा संयुक्त वक्तव्य र ‘विकसित भारत, समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेजसमेत जारी भएको छ। यसले आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई थप सहकार्य, विश्वास र विकासको दिशामा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ