काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नदी किनारमा रहेका बस्ती तथा भौतिक संरचना सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री मगरले नदीको प्राकृतिक बहाव क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन आवश्यक रहेको बताए ।



उनले भोटेकोशीमा आएको विपत्तिलाई उदाहरण दिँदै नदी किनारका बस्ती र संरचना स्थानान्तरण गर्न सके मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गरे ।
मुख्यमन्त्री मगरका अनुसार त्रिशूली नदीमा रहेका सात वटा जलविद्युत् आयोजनाका सुरुङबाट निस्किएको माटो तथा ढुङ्गा नदीमा थुपारिँदा बाढीका बेला ठूलो क्षति पुगेको थियो । त्यसैले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्दा नदीमा माटो थुप्रिने र खोलानालाको क्षेत्र साँघुरिने गरी अनुमति दिन नहुनेमा उनले जोड दिए ।
उनले प्रकृतिले निर्धारण गरेको नदी तथा खोलाको क्षेत्र खुला राख्नुपर्ने बताउँदै जलविद्युत् आयोजना सञ्चालन गर्दा वातावरणीय पक्षलाई विशेष ध्यान दिनुपर्ने धारणा राखे ।
यसैगरी, बागमती प्रदेश सरकारले अन्य बजेट शीर्षक कटौती गरेर पुनर्निर्माणका कामलाई प्राथमिकता दिने तयारी गरेको उनले जानकारी दिए । त्यसका लागि प्रदेश सरकारले करिब पाँच अर्ब रुपैयाँको कोषसमेत तयार पारेको मुख्यमन्त्री मगरले बताए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













