चितवन, ३१ वैशाख
स्व शङ्कर कँडेलले न्याय पाउने नेपाली कांग्रेसका नेताहरुले बताउनुभएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ ले आज भरतपुर महानगरपालिका–८ स्थित कँडेल निवासमा आयोजना गरेको शोक सभामा बोल्दै कांग्रेसका नेताहरूले यस्तो बताउनुभएको हो ।
सभामा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्व कँडेललाई अन्याय हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “परिवारले दिएको किटानी जाहेरीमा रहेका दोषीले उन्मुक्ति पाउने छैनन् ।” किटानीमा उल्लेख भएकाले उन्मुक्ति पाउने गरी छानबिन नहुने उहाँको भनाइ थियो । नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले अहिलेको अवस्थामा उत्तेजना र भावनामा बगेर नभई गम्भीर भएर छानबिन गरिने बताउनुभयो ।


किटानी जाहेरी परेका व्यक्ति अनुसन्धानको दायरामा आउनुपर्छ भन्ने कांग्रेसको मान्यता रहेको उहाँले बताउनुभयो । पार्टीलाई केही दिन्छु भनेर हिँडेका व्यक्तिहरूलाई न्याय दिँदै पार्टीमा आएर केही कमाउँछु भन्ने प्रवृत्तिलाई दण्डित गर्ने गरी कांग्रेस लागेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टीभित्र आएर दुई पैसा कमाउन खोज्ने प्रवृत्ति मौलाउँदै गएको यो समयमा शङ्करजी जस्ता मान्छे अट्ने ठाउँ बनाउन आवश्यक छ ।” अपराधमा संलग्नहरूलाई कानरूनी दायरामा ल्याउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
व्यवसायी एवं नेपाली कांग्रेसका महासमिति सदस्य कँडेलले यही वैशाख १९ गते आफ्नै कार्यालयमा देहत्याग गर्नुभएको थियो । बाउन्न वर्षीय कँडेलले केही महिनाअघि आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर प्रदीप रुङ्टालाई बेच्नुभएको थियो । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र सोही कम्पनीका चार्टर्ड एकाउन्टेन्ट जीवन रावलले मानसिक दबाब दिएको उहाँको सुसाइड नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–८ निवासी कँडेलका एक छोरा, एक छोरी, एक आमा र श्रीमती हुनुहुन्छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










