काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सभापति बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पाँच पटक भेटघाट गरेको बताएका छन्।
मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले ओलीसँग पछिल्लो पटक केही दिनअघि पाँचौँ पटक भेट भएको जानकारी दिएका हुन्।



उनले एमाले अध्यक्ष ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग हुने भेटघाटलाई स्वाभाविक राजनीतिक प्रक्रिया भएको बताए।
सामाजिक सञ्जालमार्फत राजनीतिक भेटघाटलाई लिएर भ्रम र भय सिर्जना गर्न खोजिएको टिप्पणी गर्दै थापाले यस्ता संवादले कांग्रेसको मूल चरित्र र राजनीतिक अडानमा कुनै परिवर्तन नआउने स्पष्ट पारे।
बैठकमा उनले रास्वपाले बहुमत प्राप्त गरेकाले पाँच वर्ष सरकार सञ्चालन गर्न दिनुपर्ने धारणा राखे। सरकारमा जानका लागि प्रतिपक्षी दलहरूबीच गठजोड गर्ने पक्षमा कांग्रेस नरहेको उनको भनाइ थियो।
यद्यपि, आवश्यक विषयमा अन्य प्रतिपक्षी दलहरूसँग संवाद र सहकार्य गर्दै कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए।
विशेषगरी मधेश प्रदेश सरकारको विषयमा मध्यावधि निर्वाचनमा जाने वा दलहरूबीच छलफल गरेर निकास खोज्ने भन्ने परिस्थिति बनेकाले विभिन्न दलका नेताहरूसँग संवाद गर्नुपरेको थापाले स्पष्ट पारे।
प्रदेश सरकारमा विभिन्न दलहरूबीच सहकार्य रहेकाले सरकार सञ्चालन र राजनीतिक निकासका विषयमा शीर्ष नेताहरूसँग छलफल हुनु स्वाभाविक भएको उनको भनाइ थियो।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













