७ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया रद्द गरिएको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छलफल थालेको छ।
समितिले जलस्रोत तथा सिँचाइ विभाग र मन्त्रालयका अधिकारीसँग छलफल गर्दै ठेक्का रद्द गर्नुको कारण, पुरानो ठेक्का तोडिएको अवस्था, आर्थिक क्षति र नयाँ नियमावली लागू गरिएको विषयमा प्रश्न उठाएको हो।



समितिले आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ। कागजात अध्ययन गरेपछि थप निर्णय लिने सभापति भरतबहादुर खड्काले बताएका छन्।
समितिको छलफलमा प्रक्रिया अन्तिम चरणमा पुगेपछि ठेक्का किन रद्द गरियो, नयाँ प्रक्रिया सुरु गर्दा समय र लागतमा कस्तो असर पर्छ तथा संशोधित सार्वजनिक खरिद नियमावली पुरानो प्रक्रियामा लागू गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेका छन्।
सांसद मनीष झाले १३.३ किलोमिटर सुरुङ २०२४ मै ‘ब्रेक थ्रु’ भए पनि त्यसपछि काम अघि नबढ्नुको कारण र आयोजनाको आगामी योजना स्पष्ट गर्न माग गरेका छन्। नेपाली कांग्रेसका सांसद जनकराज गिरीले पुनः ठेक्का प्रक्रिया सुरु गर्दा समय, लागत र प्रतिस्पर्धी कम्पनीको हितमा पर्ने असरबारे प्रश्न गरेका छन्।
सांसदहरूले ठेक्का प्रक्रिया पूरा भएपछि नियम परिवर्तन गरी पुरानो प्रक्रियामा लागू गर्नु उचित हुन्छ कि हुँदैन भन्ने विषयमा समेत छानबिन आवश्यक रहेको बताएका छन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













