११ मंसिर, काठमाडौं । भारत महाराष्ट्रको एउटा सानो गाउँबाट खल्तीमा २४ रुपैयाँ बोकेर मुम्बई पुगेका २८ वर्षीय भूषण ठाकरे ‘कौन बनेगा करोडपति’ (केबीसी) कार्यक्रममा एक करोड रुपैयाँ जितेर करोडपति बनेका छन्।
जलगाउँ जिल्लाको बालवाडी गाउँका भूषणका लागि यो जित टेलिभिजन गेम शोको सफलता मात्र नभई परिवारको आर्थिक अवस्था सुधार्ने र आफ्नो सपना पूरा गर्ने अवसर बनेको छ।



भूषणले केबीसीमा सात करोड रुपैयाँको प्रश्नसम्म पुग्ने यात्रा तय गरेका थिए। तर सात करोड जित्ने प्रश्नको उत्तर दिनुअघि नै उनले एक करोड रुपैयाँ लिएर खेलबाट बाहिरिने निर्णय गरे। पछि उनले अनुमान गरेको उत्तर सही भएको थाहा पाए पनि एक करोड लिएर बाहिरिने निर्णयप्रति उनलाई कुनै पछुतो छैन।
भूमिहीन मजदुर परिवारमा जन्मिएका भूषणका बुबाले सानै उमेरदेखि मजदुरी गर्दै परिवारको गुजारा चलाउँदै आएका थिए। परिवारमा बुबा, आमा, भूषण र उनका भाइ कुलदीप छन्। आमाले लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग संघर्ष गर्दै आएकी छन् र उनको आठदेखि नौ पटकसम्म शल्यक्रिया भइसकेको छ।
परिवारको आर्थिक अवस्था कमजोर भए पनि बुबाले छोराहरूको पढाइलाई निरन्तरता दिने प्रयास गरेका थिए। भूषणले गाउँकै सरकारी विद्यालयबाट १२ कक्षासम्म अध्ययन गरेपछि जलगाउँस्थित सरकारी संस्थानबाट उच्च शिक्षा हासिल गरे। उनले इतिहास विषयमा स्नातकोत्तर गरेका छन्।
हाल उनी राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनसँगै भारतीय प्रशासनिक सेवा (यूपीएससी) परीक्षाको तयारी गरिरहेका छन्। यूपीएससी भारतको उच्चस्तरीय सरकारी सेवामा प्रवेशका लागि हुने परीक्षा हो।
भूषणका अनुसार पढाइका लागि घरबाट बाहिरिँदा परिवारको आर्थिक अवस्था निकै कमजोर थियो। पढाइ खर्च जुटाउन कठिनाइ भइरहेका बेला आमाले घरखर्चबाट थोरैथोरै रकम बचाएर उनलाई सहयोग गर्ने गरेकी थिइन्।
केबीसीबाट जितेको एक करोड रुपैयाँले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याउने विश्वास भूषणले व्यक्त गरेका छन्। उनले परिवारको आर्थिक कठिनाइ कम गर्नुका साथै आफ्ना आगामी सपना पूरा गर्न यो रकम महत्वपूर्ण हुने बताएका छन्।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














