पोखरा । नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत रूपमा हेरफेर गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीसहित चार जना पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
स्याङ्जा जिल्ला अदालतले तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं, लेखापाल रमेश विक र किर्ते कार्यमा संलग्न रहेको आरोप लागेका प्रयासी गुरुङलाई कारागार पठाउने आदेश दिएको हो ।



प्रहरीले उनीहरूलाई गत कात्तिक १६ गते पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय स्याङ्जाले मंगलबार उनीहरूविरुद्ध सरकारी लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार छानबिनका क्रममा लेखापाल विकले आवश्यक कागजात तयार पारेको, कम्प्युटर अपरेटर चापागाईंले तत्कालीन प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गरेको र प्रशासकीय अधिकृत शर्माले प्रमाणित गरेको खुलेको छ । निर्णयअनुसार प्रक्रिया पूरा नगरी कागजी रूपमा मात्रै नागरिकता रद्द गरिएको पाइएको छ ।
दुईवटा नागरिकता भेटिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पहिलो नागरिकता रद्द गरिएको भए त्यसको कानुनी आधार, प्रक्रिया र निर्णयसम्बन्धी कागजात स्याङ्जा प्रशासनसँग माग गरेको थियो । सोही विषयमा छानबिन गर्दा गत भदौ १५ गते तीन कर्मचारीको संलग्नतामा नागरिकताको अभिलेख किर्ते गरिएको खुलेको हो ।
प्रयासी गुरुङले आफ्ना दुई बालबालिकाको नाबालक परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा कागजात पेस गर्ने क्रममा उनीसँग दुईवटा नागरिकता रहेको तथ्य सार्वजनिक भएको थियो ।
गुरुङले २०५६ चैत ३ गते स्याङ्जाको ठेगाना राखेर ५७०६६ नम्बरको पहिलो नागरिकता लिएका थिए भने २०५७ भदौ २५ गते पोखरा लेखनाथ महानगरपालिका–७, कास्कीको ठेगाना राखेर १०८५८८ नम्बरको दोस्रो नागरिकता लिएको पाइएको थियो ।
जिल्ला न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादीहरू कसुरदार होइनन् भन्न सकिने अवस्था नदेखिएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ को उपदफा १(ख) बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार भेषराज पौडेलले जानकारी दिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














