काठमाडौँ । साउदी अरबमा भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना नेपाली घाइते भएका छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समार्फत घटनाबारे जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। मन्त्रालयले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको उपचार भइरहेको छ। मृतकको परिचय भने खुलाइएको छैन।

नोभेम्बर २४ मा रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एउटा टावरमा आक्रमण भएको थियो। साउदी नागरिक सुरक्षा निकायले उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूहको संलग्नता रहेको आरोप लगाएको थियो।

नेपालले सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई निशाना बनाउन नहुने भन्दै घटनाप्रति चिन्ता व्यक्त गरेको छ। साथै विवाद तथा द्वन्द्व समाधानका लागि अधिकतम संयमता अपनाउन र शान्तिपूर्ण उपाय अवलम्बन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ