काठमाडौँ । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ ।

आज नोभेम्बर २७ मा पहिलोपटक बालविवाह तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत अक्टोबर ११ मा अन्तरराष्ट्रिय बालिका दिवसका अवसरमा जारी गरेको सन्देशमा बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गरेका थिए ।

उनका अनुसार बालविवाहको प्रमुख कारण गरिबी हो । द्वन्द्व, जलवायुजन्य विपद् तथा विस्थापनका समयमा बालिकाहरू बालविवाहको थप जोखिममा पर्ने गरेका छन् ।

बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासबाट बालविवाह रोक्न सकिने उनको सन्देशमा उल्लेख छ ।

महासचिव गुटेरेसका अनुसार पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण तथा कानुनी सुधारका प्रयासबाट अनुमानित छ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको छ । यद्यपि, वर्तमान प्रगतिको गतिले बालविवाह अन्त्य गर्न अझै शताब्दीयौँ लाग्न सक्ने उनले चेतावनी दिएका छन् ।

उनले सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सामुदायिक नेतृत्वलाई बालिकाको अधिकार संरक्षणका लागि प्रभावकारी कार्यक्रम र लगानी बढाउन आह्वान गरेका छन् ।

यसैगरी, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले राष्ट्रसङ्घीय महासभाको ८१औँ अधिवेशनअन्तर्गत तेस्रो समितिमा बालविवाह अन्त्यका लागि सन् २०३० सम्मको लक्ष्य हासिल गर्न वर्तमान प्रयासको गति २० गुणा बढाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो । विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ भने प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ