काठमाडौं । म्यानमारमा रोहिङ्गा मुस्लिम समुदायमाथि भएको नरसंहारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) को ऐतिहासिक फैसलाले इजरायललाई समेत झस्काउन सक्ने देखिएको छ।
द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयले नोभेम्बर १९ मा सुनाएको फैसलामा म्यानमारको सेनाले रोहिङ्गा समुदायमाथि गरेको हिंसाका घटनामा राज्यको जिम्मेवारी रहेको ठहर गरेको छ। अदालतले नरसंहार रोक्न तथा दोषीलाई सजाय दिन म्यानमार असफल भएको निष्कर्ष निकालेको हो।



नौ न्यायाधीशको समर्थन र छ जनाको असहमतिसहित आएको उक्त फैसला अन्तिम रहेको छ। यसविरुद्ध पुनरावेदन गर्न पाइने छैन।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले फैसलालाई रोहिङ्गा नरसंहारका पीडितको न्यायका लागि महत्वपूर्ण उपलब्धि भन्दै स्वागत गरेका छन्। उनले अन्तर्राष्ट्रिय अपराधमा दण्डहीनता स्वीकार्य नहुने सन्देश यस फैसलाले दिएको बताएका छन्।
सुकीले सेनाको बचाउ गरेकी थिइन्
म्यानमारकी तत्कालीन नेतृ आङ सान सुकीले सन् २०१९ मा अन्तर्राष्ट्रिय न्यायालयसमक्ष उपस्थित भएर आफ्ना देशका सुरक्षा निकायको बचाउ गरेकी थिइन्।
उनले रोहिङ्गा समुदायका मानिसहरू रखाइन राज्यबाट विस्थापित हुनुको कारण आन्तरिक सशस्त्र द्वन्द्व भएको दाबी गरेकी थिइन्। सुरक्षा निकायबाट आवश्यकताभन्दा बढी बल प्रयोग भएको हुन सक्ने स्वीकार गरे पनि त्यसमा नरसंहार गर्ने उद्देश्य नरहेको उनको तर्क थियो।
तर, अदालतको पछिल्लो फैसलाले म्यानमारको उक्त प्रतिरक्षालाई कमजोर बनाएको छ। सुकीले आफ्नो बयानका क्रममा आमहत्या, सामूहिक बलात्कार तथा बालबालिकासँग सम्बन्धित गम्भीर घटनाबारे भने उल्लेख गरेकी थिइनन्।
गाम्बियाको मुद्दाले पायो ऐतिहासिक सफलता
मुस्लिम बाहुल्य मुलुक गाम्बियाले म्यानमारविरुद्ध मुद्दा दायर गरेको सात वर्षपछि अदालतले यस्तो निर्णय सुनाएको हो।
सन् १९४८ को नरसंहार महासन्धिअन्तर्गत आएको यो फैसला अन्तर्राष्ट्रिय कानुनका दृष्टिले महत्वपूर्ण मानिएको छ। रोहिङ्गा समुदायमाथि भएको सैन्य कारबाहीका कारण कम्तीमा सात लाख मानिस विस्थापित भएको विषयलाई पनि अदालतले आफ्नो फैसलामा सम्बोधन गरेको छ।
यस फैसलाले अन्तर्राष्ट्रिय अपराधमा कुनै राज्यलाई जिम्मेवार ठहर गर्ने कानुनी आधारलाई थप स्पष्ट पारेको छ। कानुनी विज्ञहरूले यसलाई भविष्यमा अन्य देशविरुद्धका नरसंहारसम्बन्धी मुद्दामा समेत महत्वपूर्ण नजिरका रूपमा अध्ययन गर्ने अपेक्षा गरिएको छ।
विशेषगरी इजरायलमाथि लगाइएका नरसंहारसम्बन्धी आरोपको सन्दर्भमा पनि म्यानमारसम्बन्धी फैसलाले अन्तर्राष्ट्रिय कानुनी बहसलाई थप प्रभाव पार्न सक्ने देखिएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














