काठमाडौं, १३ मंसिर। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका तर जारी हुन बाँकी तीनवटा अध्यादेशबारे विषय विज्ञहरूसँग परामर्श गर्ने भएका छन्।
राष्ट्रपति कार्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश, जेनजी आन्दोलनका घटनाको छानबिन तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने आयोगसम्बन्धी अध्यादेश र प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश विचाराधीन छन्।



विशेषगरी जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी मुद्दाको छानबिन, मेलमिलाप, क्षतिपूर्ति तथा परिपूरणका विषयमा राष्ट्रपति पौडेलले कानुनी विज्ञहरूको राय लिन लागेका हुन्।
गम्भीर अपराधबाहेकका मुद्दालाई मेलमिलाप तथा क्षतिपूर्तिमार्फत टुंग्याउने प्रस्ताव कानुनसम्मत र उपयुक्त छ कि छैन भन्ने विषयमा राष्ट्रपतिले चासो देखाएका छन्।
त्यस्तै, प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेशलाई लिएर नेपाल पत्रकार महासंघले विरोध जनाउँदै आएको छ। महासंघले सरोकारवाला पक्षसँग परामर्श नगरी अध्यादेश ल्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै त्यसलाई फिर्ता लिन माग गरेको छ।
महासंघले माग सम्बोधन नभएको भन्दै मंसिर २० गतेसम्म दोस्रो चरणको आन्दोलनसमेत सुरु गरेको छ।
संविधानले सुनिश्चित गरेका मौलिक हक र प्रेस स्वतन्त्रतासँग सम्बन्धित विषय अध्यादेशमार्फत ल्याउन खोजिएकाले राष्ट्रपति कार्यालयले यसबारे थप अध्ययन गरिरहेको जनाएको छ।
यद्यपि, परामर्शका लागि बोलाइने विज्ञहरूको नाम र विवरण राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छैन।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














