काठमाडौँ । यही मङ्सिर २१ गते सोमबार मनाइने बाला चतुर्दशी पर्वका लागि पशुपति क्षेत्रमा तयारी सुरु गरिएको छ। पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सुरक्षा निकायका प्रतिनिधिहरूसँग बैठक गरी आवश्यक व्यवस्थापन अघि बढाएको हो।
कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले पर्वमा सहभागी हुने भक्तजनको सहज दर्शन तथा आवागमन सुनिश्चित गर्न सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइएको जानकारी दिए। बैठकमा भीड व्यवस्थापन, शान्ति सुरक्षा तथा आवश्यक सुरक्षा प्रबन्धका विषयमा छलफल भएको उनले बताए।



बाला चतुर्दशीका अवसरमा मङ्सिर २० गते आइतबार साँझदेखि नै पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने भक्तजनको भीड लाग्ने गर्छ। भक्तजन रातभर जाग्राम बसेर भोलिपल्ट मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने परम्परा छ।
पशुपति क्षेत्रका साथै देशका विभिन्न स्थानमा रहेका शिवालयहरूमा समेत बत्ती बाल्ने र शतबीज छर्ने गरिन्छ।
पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले सम्बन्धित सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक तयारी अघि बढाएको जनाएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














