काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न कानुनी तथा नियामकीय सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नं. ६ अन्तर्गत टोखा नगरपालिका–१ बौडेश्वर झोरमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले लगानीसँग सम्बन्धित केही कानुन आगामी केही दिनभित्रै संशोधन गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार कानुनी व्यवस्था सहज र लगानीमैत्री नभएसम्म उद्योग तथा व्यवसायको विकास गर्न कठिन हुन्छ । उद्योग व्यवसाय विस्तारका लागि अनुकूल वातावरण बनेपछि मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति लिने उनले बताए ।

प्रधानमन्त्री वालेन्द्र शाहको चीन भ्रमणबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री खनालले भ्रमणको मिति अहिलेसम्म तय नभएको स्पष्ट पारे । भारत भ्रमणपछि चीन भ्रमण हुने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आए पनि त्यसको औपचारिक टुङ्गो नलागेको उनको भनाइ थियो ।

यसैगरी, उनले काठमाडौँ क्षेत्र नं. ६ को विकासका लागि साङ्ला खोला करिडोरलाई प्राथमिकतामा राखेको बताए । निर्वाचन क्षेत्रका विकास निर्माणसँग सम्बन्धित विभिन्न योजनालाई अघि बढाउन आफू निरन्तर प्रयासरत रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ