चितवन । सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्दै समयसापेक्ष, प्रविधिमैत्री तथा भूगोलअनुकूल कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार चितवन उद्योग सङ्घमा आयोजित उद्योग व्यवसायसँग सम्बन्धित समसामयिक विषयको छलफलमा उनले कानुन निर्माणमार्फत निजी क्षेत्रको समस्या समाधान र आर्थिक समृद्धिमा योगदान पुर्‍याउन सकिने बताए।

उनले निक्षेपकर्तालाई एक प्रतिशत र लगानीकर्तालाई तीन प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन सकिने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे। उच्च ब्याजदरले उत्पादनशील क्षेत्रमा लगानी निरुत्साहित गरिरहेको उल्लेख गर्दै सस्तो ब्याजदरमा कर्जा उपलब्ध भए व्यवसाय विस्तार र लगानी प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ थियो।

राज्य सबै नागरिकको साझा सम्पत्ति भएको उल्लेख गर्दै सभामुख अर्यालले प्रत्येक नागरिकले राज्य आफ्नो पनि हो भन्ने अनुभूति गर्न पाउनुपर्ने बताए। उनले राज्यबाट प्राप्त बजेटको सदुपयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गरी परिणाम देखाउनुपर्नेमा जोड दिए।

चालु आर्थिक वर्षमा १६६ वटा नयाँ कानुन निर्माण तथा संशोधन गर्ने तयारी रहेको जानकारी दिँदै उनले एउटा मात्र कानुन संशोधन गरेर मुलुकको समृद्धि र व्यवसायीको हित सुनिश्चित गर्न नसकिने बताए।

व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्री, मन्त्री तथा उच्च पदाधिकारीलाई ज्ञापनपत्र बुझाउनुभन्दा सम्बन्धित संसदीय समितिमा विषय प्रस्तुत गरी नीतिगत सुधारका लागि पहल गर्न उनले सुझाव दिए।

प्रतिनिधिसभाअन्तर्गतका १० वटा संसदीय समितिलाई ‘मिनी संसद्’को संज्ञा दिँदै उनले निजी क्षेत्रले आफ्ना समस्या लिखित रूपमा समितिमा प्रस्तुत गरेर छलफल गर्नुपर्ने बताए। समितिमा सरकार, प्रतिपक्ष, कर्मचारी तथा कानुन मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुने भएकाले त्यहाँबाट समस्या समाधानका लागि प्रभावकारी पहल हुन सक्ने उनको भनाइ थियो।

सभामुख अर्यालले व्यवसायी र उपभोक्ता दुवैको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए। ज्ञापनपत्र बुझाउने र छलफल गर्ने क्रम जारी रहे पनि त्यसबाट प्राप्त उपलब्धिको समीक्षा हुन नसकेको उनले उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ